गृहपृष्ठ थप १,०६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०,५२९ पुग्यो
थप १,०६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०,५२९ पुग्यो
पछिल्लो २४ घण्टामा देशभर महिला ३ सय ४४ र पुरुष ७ सय २५ गरी १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १२ हजार ८८ परीक्षण गरिएको थियो ।
काठमाडौं उपत्यकाभित्र ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लाका ३ सय ९३, ललितपुरका ५८ र भक्तपुरका ३० जना रहेका छन् । अब कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई ७ सय ६८ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म २२ हजार १ सय ७८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८३२ र होम आइसोलेशनमा ७ हजार २८० जना रहेका छन् । देशभर क्वारेन्टिनमा ७ हजार ३ सय ९० जना रहेका छन् ।
थप ११ जनाको मृत्यु
कोरोनाभाइरसबाट ४ वर्षीया बालिकासहित देशभर थप ११ जनाको मृत्यु भएको छ । महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १-१ जनाको समेत मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ सय २९ पुगेको प्रवक्ता गौतमले बताए ।
प्रकाशित समय १६:३१ बजे

















