गृहपृष्ठ बागलुङ बाढी : सभामुख सापकोटा र अध्यक्ष प्रचण्ड स्तब्ध
बागलुङ बाढी : सभामुख सापकोटा र अध्यक्ष प्रचण्ड स्तब्ध
सभामुख अग्निप्रसाद सापकोटा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागलुङको ढोरपाटन–९ को सुकुर्दुङ खोलामा आएको बाढीबाट भएको जनधनको क्षति भएको घटनाले आफू स्तब्ध भएको बताएका छन् ।
एक वक्तव्य जारी गरी सभामुख सापकोटाले दुःखद घटनामा निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् । बुधबार राति परेको अविरल वर्षाका कारण सुकुर्दुङ खोलामा आएको बाढीले १२ जनाको मृत्य र ४१ जना बेपत्ता भएका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री दाहालले ट्वीटमार्फत् सो घटनामा परी निधन भएकामा श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदनसमेत प्रकट गरेका छन् ।
अध्यक्ष दाहालले बाढीमा बेपत्ता भएकाको खोजी र उद्धार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रनिधि, सुरक्षा निकाय, समाजसेवीलगायत सबैमा आह्वान गरेका छन् । उनले बाढीमा परी निधन, बेपत्ता तथा विस्थापित परिवारजनलाई उचित क्षतिपूर्ति र व्यवस्थापनको लागि सरकारको ध्यानाकर्षणसमेत गराएका हुन् ।
यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि सो घटनाबाट निकै ठूलो धनजनको क्षति भएको खबरले आफू स्तब्ध बनेको बताए ।
प्रकाशित समय ०६:१८ बजे

















