गृहपृष्ठ कोरोनाले खोस्यो गाँस

कोरोनाले खोस्यो गाँस

कैलालीको गोदावरी नगरपालिका ९ मा रहेको खुटिया नदीकिनारामा एक वर्ष अघिदेखि कुटेका गिटी थुपारिएको छ । लकडाउन खुलेपछि बिक्ला भन्दै गर्दा निषेधाज्ञाको चपेटामा परेकाहरु गिटी नबिकेपछि थुपारेर राख्न बाध्य भएका हुन् ।

गिटी बिक्न छोडेपछि गिटी कुटेर दैनिकी चलाउनेहरुको बिजोग भएको छ । हिजोआज न कोही गिटी किन्न आउँछ न त कोही राहत दिन नै । पोहोरभन्दा आधा मूल्यमा बेच्न खोज्दा पनि कसैले नलिएपछि उनीहरु चिन्तित बनेका छन् । गिटी नबिकेपछि साँझ-बिहानको छाक टार्ने चिन्ता उनीहरुमा थपिएको हो ।

खुटिया नदीमा वर्षौंदेखि गिटी बेचेर नै जीवन निर्वाह गदै आएकाहरु लामो लकडाउनका कारण समस्यामा परेका हुन् । लकडाउन खुलेपछि सडक निर्माण होस् या अन्य परियोजन, कोही न कोही गिटी किन्न आउँछन् भन्नेमा उनीहरु छन् । त्यही आशमा सामाजिक दूरी कायम गरेर उनीहरु दिनभर गिटी कुटिरहन्छन् ।

लामो समय भारतमा रोजगारी गर्दै आएका गोदावरी नगरपालिका ९ बल्मीका देवबहादुर साउद भारतमा कोरोना महामारी फैलिएपछि फर्किए । भारतमा रोजगारी गुमाएर नेपाल आएपछि परिवारको खर्च जोहो गर्न खुटिया किनारामा उनले गिटी कुट्न थालेको चार महिना बित्यो तर अहिलेसम्म गिटी बिकेको छैन । ‘महिना दिन लगाएर पाँचदेखि सात घनमिटर गिटी कुट्छु, त्यही बेचेर दैनिकी चलाउँछु भन्ने सोचमा थिएँ,’ उनले भने, ‘गिटी नबिकेपछि परिवार पाल्ने चिन्ता थपिएको छ ।’

खुटिया किनारामा बस्ने अधिकांश नागरिकको आम्दानीको स्रोत ढुंगा हो । तर, सरकारले लकडाउनका बेला राहतको नाममा सोधपुछबाहेक केही दिएन । खुटिया नदी छेउमै बसोबास गर्दै आएका साउदसँग सानो झुपडीबाहेक केही छैन । ‘बन्दअघि एक घनमिटरको २२ रुपैयाँमा बिक्दै थियो,’ बल्मीकै काल्चे साउदले भने, ‘अहिले आधामै दिन्छु भन्दा पनि कोही किन्दैनन् ।

बल्मीबासीको जिउने सहारा खुटिया नदीको ढुंगा हो । घाम, पानी, जाडो केही नमानी उनीहरु खुटिया नदीमै रमाइरहन्छन् । नदीको छेउमा गिटी कुट्नेहरुको ताँती नै हुन्छ । बूढादेखि बच्चासम्मको दिनचार्य नदीमै बितिरहेको वर्षौं भयो । तर, यसबेला महँगी पनि बढ्यो र गिटी पनि बिकेन । उनीहरुलाई कोरोनाले आहारा लुटेको अभास हुन्छ ।

प्रकाशित समय १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु