गृहपृष्ठ फूलले बजार नपाएपछि पुष्प व्यवसायी चिन्तित

फूलले बजार नपाएपछि पुष्प व्यवसायी चिन्तित

phul_news karobar फाइल तस्बिर ।

ग्रीन हाउसभित्र ढकमक्क विभिन्न थरीका फूलहरु फुलिरहेका छन् । फूल फुलेर ओइलिँदै गए पनि बजार नपाएपछि व्यवसाय भने सामान्य गोडमेल र सरसफाइ बाहेकका अरु काम गर्ने अवस्था नै नभएको पुष्प व्यवसायी बताउँछन् ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका- ९, नयाँ बस्तीमा रहेको चण्डेश्वरी फ्लोरिकल्चरमा फार्मका फूलले बजार नपाएपछि व्यवसायी चिन्तित बनेका हुन् । उत्पादन भएर बजारीकरण गर्ने बेलामा कोरोना भाइरस महामारीका कारण बन्दाबन्दी भएपछि फूल ग्रीन हाउसमा नै सुकेर गएको फार्म सञ्चालकले बताए । बनेपाका युवा व्यवसायी विकास वादे, प्राणनाथ कायस्थ र कान्छा मानन्धरले सुरु गरेको पुष्प व्यवसाय फस्टाए पनि बेच्ने बेलामा कोरोनाको महामारीसँगैको बन्दाबन्दीले फूल सुकेर गएको बताए ।

काभ्रेपलाञ्चोकमा उत्पादन भएको फूलको माग काठमाडौँको बजारमा राम्रो भएको कारण पछिल्लो समयमा जिल्लामा फूल उत्पादन गर्ने पुष्प व्यवसायी बढेका थिए । फार्म सञ्चालक प्राणनाथ कायस्थ भन्छन्, “अरुले खेती गरेको देखेपछि साथी मिलेर गरेको खेती राम्रो भएको थियो, बन्दाबन्दीले बजारसम्म लान पाइएन, लगानी गर्नुमात्रै भयो ।’ तीन जना मिलेर करिब ४० लाख लागतमा १२ वटा ग्रीन हाउस बनाएर खेती गरेको तर बजार लान नपाउँदा घाटा व्यहोर्नुपरेको अर्का सञ्चालक विकास वादेले बताए ।

बन्दाबन्दी असार र साउनमा डेढ लाखसम्मको फूल बेचेको भए पनि त्यसले ज्याला समेत नउठेको उनको भनाइ छ । एकातिर बजार नपाउनु अर्कोतिर अलिअलि गरेर बेचेको फूल पनि बजारभाउभन्दा आधा मूल्यमा बेचेको उनले बताए । बन्दाबन्दी नभएको भए यसबीचमा पाँच/छ लाखको फूल बिक्री हुनेथियो ।

आम्दानी लिन नपाए पनि वार्षिक डेढलाख भाडा तिर्नुपरेको उनीहरुले बताए । ‘लाखौँको लगानी गरेर सुरु गरेको खेती उत्पादन भएर बजार नपाउँदाको जस्तो पीडा अरु छैन, आगामी दिनमा सरकारले सहुलियत ऋण र अनुदान व्यवस्थापन गरिदिएको खण्डमा यो व्यवसायलाई निरन्तर अगाडि बढाउन सहज हुनेछ,’ उनीहरुले भने । उक्त फार्ममा जर्वेरा, पिकक्, जिप्सी, सयपत्री र रजनीगन्ध(ट्युरोज) लगायतका फूल छन् ।

अर्का पुष्प व्यवसायी सरराज उप्रेतीले यस वर्ष उत्पादन भएको फूल बिक्री गर्न नपाएरै सुकेर गएको बताए । दुई वर्ष अगाडि श्री प्राणनाथ फ्लोरा फार्म स्थापना गरी सुरु गरेको फूल खेतीले एक वर्ष अगाडि सयपत्री फूल बेचेर मात्रै सात लाखसम्म बिक्री गरेको भए पनि यस वर्ष टनेलभित्र नै ओइलिएर गएको उप्रेतीले बताए । ‘यस वर्ष त सबै फुलेको फूलहरु मल बनाउनुपर्‍यो,’ उनले भने, ‘गत वर्षतिर मागअनुसार उत्पादन गर्न नसकेकोमा यस वर्ष भने पुष्प व्यवसायीको लगानी बालुवामा पानी भने जस्तै सबै फूलहरु फाल्नुपर्‍यो ।’ (रासस)

प्रकाशित समय ११:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु