गृहपृष्ठ काभ्रेमा गर्भवती र सुत्केरीको निःशुल्क बिमा

काभ्रेमा गर्भवती र सुत्केरीको निःशुल्क बिमा

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला काभ्रेको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बिमा थालिएको छ । नगरले ‘उपप्रमुखसँग महिला कार्यक्रम’अन्तर्गत उक्त अभियान सुरु गरेको हो ।

नगर उप्रमुख रेखा दाहाल सापकोटाले बुधबार एक कार्यक्रमकाबीच बिमा कम्पनीसँग सम्झौता गरेलगत्तै अभियानको सुरुवात गरेका छन् । ‘बिमाले स्वास्थ्य जोखिममा रहेका महिलाको हौसला थपिएको छ, यसले आर्थिक अवस्था कमजोर भएका महिलाको मनोबल उच्च राख्नेछ,’ उनले भने । उनले कार्यक्रमको सुरुवातसँगै दुवै समूहका ५१ महिलालाई कोभिड–१९ बिमालेख हस्तान्तरण गरेकी हुन् ।

सापकोटाका अनुसार हाल नगरका गर्भवती तथा डेढ महिनाको सुत्केरी महिला बिमा कार्यक्रममा अट्नेछन् । उनले नगरभित्रका दुवै समूहका ४०० महिलाको निःशुल्क कोभिड–१९ बिमा गरिने जानकारी दिए । ‘उपप्रमुखसँग महिला कार्यक्रमअन्तर्गत यस वर्ष यही बिमा हो,’ उनले भने । उनका अनुसार नगरका १४ वडामा हालसम्म पहिचान भएका २३५ गर्भवती र १६५ डेढ महिनाका सुत्केरीको पहिलो चरणमा निःशुल्क कोभिड–१९ बिमा गरिनेछ । प्रिमियम रकममा ५० प्रतिशत छुटमा एक लाख रुपैयाँको बिमा हुने जनाइएको छ ।

संक्रमणको जोखिम बढिरहेको वर्तमान अवस्थामा गर्भवती र सुत्केरीको निःशुल्क कोरोना बिमा गर्ने निर्णय गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादेले बताए । उनले भने, ‘बिमाले महिलामा रोगसँग लड्ने मानसिकताको थप विकास हुने अपेक्षा गरेका छौँ ।’ उनका अनुसार हाल नगरमा सक्रिय संक्रमित महिला ४० र ६६ पुरुष रहेका छन् । यसअघि नगरले जनप्रतिनिधि र कर्मचारीको बिमा गरिसकेको जनाएको छ ।

पाँचखाल नपा–४ का वडाध्यक्ष सुन्दर लामाले साताअघि एकल महिलाको आफैले निःशुल्क कोभिड–१९ बिमाको प्रक्रिया थालेका छन् । लामाले आफ्नो क्षेत्रमा पहिचान भएका १२८ एकल महिलाको निःशुल्क कोभिड–१९ बिमा गरिरहेको बताए । ‘प्रिमियम रकममा ५० प्रतिशत छुटमा उनीहरुको बिमा गर्न लागेको हुँ,’ उनले भने ।

प्रकाशित समय १०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु