गृहपृष्ठ पीसीआर परीक्षण शुल्क आधा घट्यो
पीसीआर परीक्षण शुल्क आधा घट्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड- १९)को पीसीआर परीक्षण शुल्क दुई हजार रूपैयाँ तोकेको छ । अब सबै प्रयोगशालाले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकिएको आइतबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला सबैले घटेको शुल्कमा पीसीआर परीक्षण गराउनुपर्ने हुन्छ । प्रवक्ता गौतमका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पीसीआर परीक्षणको शुल्क पुनरावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटेको जानकारी दिए । बजारमा रिएजेन्ट र पीसीआरका अन्य सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क घटाइएको उनको भनाइ छ ।
यसअघि मन्त्रालयले पीसीआर परीक्षणका लागि चार हजार ४ सय रूपैयाँ तोकेको थियो । त्यस भन्दाअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले पाँच हजार ५ सय शुल्क तोकेको थियो । नेपालमा अहिलेसम्म आठ लाख ४० हजार ५२७ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसमध्ये ५४ हजार १५९ जना संक्रमित भएका छन् ।
सरकारले सर्वसाधारण सबैलाई निःशुल्क परीक्षण गर्दै आइरहेको छ भने सशुल्क परीक्षण गराउन इच्छुक व्यक्तिले मन्त्रालयले तोकेको अस्पताल वा प्रयोगशालामा गई परीक्षण गराउन सक्ने व्यवस्था गरेको छ । अहिले ४७ सरकारी प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आइरहेको छ ।
यसैगरी मन्त्रालयले बंगलादेशबाट आएको रेम्डेसिभिर खोप नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिकाअनुसार प्रयोग गर्न सूचीकृत भएका अस्पतालमा बिरामीको चाप हेरेर वितरण गर्न निर्देशन दिएको प्रवक्ता गौतमले जानकारी दिए । उक्त खोपको सम्पूर्ण वितरण परिषद्ले प्राप्त गरी मन्त्रालयमा पेश गर्नसमेत भनिएको छ । सरकारले बंगलादेशबाट सो खोप पाँच हजार प्राप्त गरेको उनले बताए ।
प्रकाशित समय १७:४१ बजे

















