गृहपृष्ठ घुम्थाङ पहिरो : मृतकको संख्या १३ पुग्यो, बेपत्ता १८ को खोजी जारी

घुम्थाङ पहिरो : मृतकको संख्या १३ पुग्यो, बेपत्ता १८ को खोजी जारी

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । अझै १८ जना बेपत्ता छन् ।

शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा आज बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले बताए । उनका अनुसार आज बिहान २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिया विक को शव फेला परेको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट तीन वटा टोली बनाइ नेवार टोल, लामा टोल र विक टोलमा उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिबाट पीडित परिवारका लागि त्रिपाल, टेन्ट, कम्बल, किट तथा भाँडाकुँडा पठाइसकेको र खाद्यान्नका लागि बाह्रबिसे नगरपालिकाबाट व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । विस्थापित ५८ परिवारलाई हिजो नै सुरक्षित स्थानमा राखिएको छ । पहिराबाट २२ घर पूर्णरुपमा क्षति भई ३१ जना बेपत्ता भएका थिए । आंशिक रुपमा क्षति भएका घरको लगत संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

अरु बेपत्ता १८ जनाको खोजी भइरहेको छ । शनिबार राति गएको पहिराले बाह्रबिसे नगरपालिका- ७, को घुम्थाङ भिरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् । सुरक्षाकर्मी र स्थानीय बासिन्दा खोजीमा जुटेका छन् । (रासस)

प्रकाशित समय १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु