गृहपृष्ठ विद्युत प्राधिकरणबाट कुलमान घिसिङको औपचारिक बिदाइ
विद्युत प्राधिकरणबाट कुलमान घिसिङको औपचारिक बिदाइ
कार्यकारी निर्देशकका रूपमा चार वर्षे कार्यकाल पूरा गरेका कुलमान घिसिङको नेपाल विद्युत् प्राधिकरणबाट औपचारिक रुपमा बिदाइ भएको छ । घिसिङको पुनः नियुक्तिका लागि जनस्तरबाट चर्को दबाब भइरहँदा प्राधिकरणका कर्मचारीहरूले मंगलबार उनको औपचारिक बिदाइ गरे ।
आइतबारदेखि नै कार्यालय जान छाडेका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले पुनः नियुक्ति गर्ने चर्चा भए पनि सोमबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा मन्त्रालयको त्यससम्बन्धी प्रस्ताव पन्छाएका थिए ।
२०७३ भदौ २९ गते घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति भएका थिए । तत्कालीन समयमा विद्यमान १६ घण्टा लोडसेडिङ अन्त्यका लागि उल्लेखनीय भूमिका खेलेको श्रेय उनलाई जान्छ । अर्बाैंको घाटामा रहेको प्राधिकरण घिसिङकै नेतृत्वमा नाफा कमाउन सफल भएको छ ।
बिदाइ कार्यक्रममा बोल्दै घिसिङले कुनै पनि संस्थाको नेतृत्वमा व्यक्ति आउनु-जानु सामान्य भएको उल्लेख गरे । टिम मिलेर काम गर्दा आफ्नो कार्यकालमा प्राधिकरणले नजिता निकाल्न सकेको बताउँदै उनले कर्मचारीहरुलाई धन्यवाद दिए ।
२०५१ सालमा प्राधिकरणको सातौं तहको कर्मचारीका रुपमा उनले प्राधिकरणमा सेवा सुरु गरेका थिए ।
प्रकाशित समय १६:२१ बजे

















