गृहपृष्ठ जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित
जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित
जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । नवनिर्वाचित प्रधानमन्त्री सुगा गैरआवासीय नेपाली महासंघ (एनआरएनए)का पूर्वअध्यक्ष भवन भट्टका काकाससुरा हुन् ।
जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनले संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाएका हुन् । किसानको छोरा सुगा अहिले ७१ वर्षको भएका छन् । उनी सन् १९९१ मा प्रधानमन्त्री बनेका किचि मियाजावापछि सबैभन्दा पाको उमेरको प्रधानमन्त्री भएका छन् ।
प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि उनले देश र जनताको लागि काम गर्न आफू सँधै प्रतिबद्ध रहेको बताएका छन् । ‘मेरो लगाव सवै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु,’ उनले भनेका छन् । उनले आफूले सबैभन्दा बढी प्राथमिकता कोरोनाविरुद्धको लडाईमा दिने र जापानी अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने बताएका छन् । त्यसका लागि सबैको तर्फबाट सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे ।
उनको मन्त्रीपरिषदमा पूर्वअर्थमन्त्री तारो असो र विदेशमन्त्री तोशिमित्सु मोतेगी दोहोरिने सम्भावना देखिएको छ । सुगाले यसअघि लिएको मन्त्रीपरिषद्को मुख्य सचिवको जिम्मेवारी भने तत्कालीन स्वास्थ्यमन्त्री कत्सुनोबु कातोले पाउने अपेक्षा गरिएको छ । निवर्तमान प्रधानमन्त्री सिन्जो आबेको अति निकटस्थ पात्रका रुपमा रहेका सुगालाई यसअघि गत सोमबार उनी पार्टीको प्रमुखमा निर्वाचित गराइएको थियो ।
सुगाले आबे नेतृत्वको सरकार रहेका बेलामा सरकारको मुख्य प्रवक्ता र मन्त्रिपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । गत सोमबार भएको पार्टी भित्रको निर्वाचनमा उनले ३७७ मत प्राप्त गरेका थिए । उनसँग प्रतिस्पर्धा गरेका पूर्वविदेशमन्त्री फुमिओ किशिदाले ८९ र पूर्व रक्षामन्त्री शिगेरु इशिबाले ६८ मत मात्रै प्राप्त गरेका थिए ।
निवर्तमान प्रधानमन्त्री आबेले केही दिनअगाडि अस्वस्थताको कारण देखाउदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेका थिए । उनी सुरुमा सन् २००६ देखि २००७ सम्म पहिलोपटक प्रधानमन्त्री भएका थिए । त्यतिबेला पनि अस्वस्थतालाई कारण देखाउदै पद त्याग गरेका आबे स्वास्थ्यमा सुधार आएपछि सन् २०१२ मा फेरी प्रधानमन्त्रीमा निर्वाचत भएका थिए । त्यसपछि केही दिन अगाडिसम्म उनी लगातार प्रधानमन्त्री थिए ।
जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेको नेताका रुपमा रहेका ६५ वर्षीय आवेले आफ्नो कार्यकाल अझै झण्डै एक बर्ष बाँकी रहेकै बेलामा राजीनामा दिएका हुन् । उनले सरकारको नेतृत्व गरेका बेलामा सुगाले अति निकट भएर उनीसँग काम गरेका थिए । जापानमा अहिले पनि आबेलाई अति लोकप्रिय नेताका रुपमा लिइने र पार्टी भित्र पनि उनको प्रभाव अत्यधिक धेरै भएको छ ।
प्रकाशित समय १४:३६ बजे

















