गृहपृष्ठ सरकारी कार्यालयमै सरकारी नियमको धज्जी ? ‘हाटबजार’जस्तै मालपोत कार्यालय
सरकारी कार्यालयमै सरकारी नियमको धज्जी ? ‘हाटबजार’जस्तै मालपोत कार्यालय
कोरोनाभाइरस (कोभिड- १९) नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेबाट गरेको लकडाउन करिब चार महिनापछि हट्यो । त्यसपछि लागू गरेको निषेधाज्ञासमेत खुकुलो भई अधिकांश क्षेत्र गत असोज १ देखि सुचारु भइसकेका छन् ।
सुदूरपश्चिमका प्राय सबै जिल्लाका सरकारी सेवा, बजार पसल, उद्योग, व्यवसायहरु पनि पुनः सञ्चालनमा आइसकेका छन् । निषेधाज्ञा खुकुलो बनेसँगै प्रदेशको अस्थायी राजधानी धनगढी रहेको जिल्ला कैलालीको जनजीवन पनि सामान्य बन्ने क्रममा छ । कोरोना संक्रमणको जोखिम हटेका कारण नभई सर्वसाधारणको जीवनयापन असहज बनेका कारण सरकारले निषेधाज्ञा खुकुलो बनाएको हो ।
सरकारले निषेधाज्ञा खुकुलो बनाइए पनि कोरोना जोखिम उस्तै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने नियम भने अझै यथावत छ । तर, सरकारले बनाएका यस्ता सुरक्षा मापदण्डहरु सरकारी कार्यालयमै पालना भएको पाईंदैन । नियमित कामकाज सुरु भएपछि भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा सेवाग्राहीको भीड दोब्बर बढेको छ । सरकारले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर कार्यालयको काम सञ्चालन गर्न निर्देशन गरे पनि यहाँ त्यसको कुनै पालना भएको छैन ।
कैलाली मालपोत कार्यालयको भीड हेर्दा कुनै ‘हाटबजार’भन्दा फरक लाग्दैन । सेवाग्राहीहरु बेपर्वाह कार्यालयका काउण्टरमा झुम्मिरहेका छन् । ‘महामारीको अवस्थामा भीडभाड गर्नुहुन्न’ भन्ने थाहा भएर पनि मानिसहरुले सरकारी स्वास्थ्य मापदण्डको वेवास्ता गरिरहेको पाइएको छ । मालपोत कार्यालयमै भेटिएका एकजना सेवाग्राहीको अभिव्यक्तिले पनि त्यही संकेत गर्थ्यो । भीडका बीच निस्फिक्री देखिएका उनी व्यंग्यात्मक शैलीमा भन्दैथिए, ‘यतिका भीडबाट त कोरोनाभाइरस नै तर्सिन्छजस्तो लाग्छ ।’

चिकित्सकहरुका अनुसार सुदूरपश्चिममा कोरोनाभाइरस संक्रमण समुदाय स्तरमा समेत फैलिसकेको छ । दिनहुँ कोरोनाका सक्रमित थपिने क्रम जारी छ । तर मालपोत कार्यालयको भीडले भने ५ महिने लकडाउनको औचित्यमाथि नै प्रश्न उठाएको छ । मालपोत कार्यालयले नै मापदण्ड पालना गर्न नसकेको सेवाग्राहीहरु दावी गर्छन् । गौरीगंगाबाट जग्गा पास गर्न मालपोत कार्यालय पुगेका बसन्त परियार भीडभाडमा काम गर्न धेरै समस्या भएको बताउँछन् ।
सरकारले निर्देशन गरेअनुसार मालपोत कार्यालय कैलालीले न त गेटमा ज्वरो नाप्छ, नत सेनिटाइजर नै राखेको छ । झन् केही सेवाग्राही त मास्क नै नलगाई लाइनमा कोचिएका थिए । यस्तो अवस्थाले कोरोना संक्रमण झनै बढ्नसक्ने सेवाग्राहीहरु आफैँ बताउँछन् । मालपोत कार्यालयको भीडले यसअघि गरेको लकडाउनको कुनै अथै नै नभएको उनीहरुको भनााइ छ ।
जग्गा पास गर्न मालपोत कार्यालय कैलाली आएका डडेल्धुराका नवराज नेपालीले सरकारी कार्यालयको भीड देखेर आफैँलाई अचम्म लागेको बताए । ‘यस्तो भीडले कोरोना महामारी सकिने होइन, अझै थपिएला,’ उनले चिन्ता व्यक्त गरे ।
यसअघि काम रोकिएका सेवाग्राहीहरु एकैसाथ आएका कारणले पनि भीड बढेको मालपोत कार्यालय प्रमुख सुरेन्द्र केसी बताउँछन् । ‘भीडभाड बढ्ने समस्यालाई ध्यान दिएर नै स्थानीय तहअन्तर्गत फरक/फरक बार छुट्याएर काम गरेका छौं,’ उनले भने । सामाजिक दुरी कायम गराउने प्रयास गर्दासमेत सम्भव नभएको उनको भनाइ छ । उनका अनुसार कार्यालयले सामाजिक दुरी पालना गराउने प्रयास भने गरिरहेको छ ।
प्रकाशित समय १८:५८ बजे

















