गृहपृष्ठ डडेल्धुराको रुपालमा सशस्त्रको बीओपी स्थापना

डडेल्धुराको रुपालमा सशस्त्रको बीओपी स्थापना

भारतसँग सीमा जोडिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–१ रुपालस्थित सेल्टुडामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना गरिएको छ ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र डीआइजी हरिशंकर बुढाथोकीले बताए ।

उनले सीमा सुरक्षा, सीमा स्तम्भहरुको संरक्षण र सीमामा हुने आपराधिक गतिवितिहरु नियन्त्रणका लागि सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएकोे बताए । राज्यले संगठनलाई दिएको सीमा सुरक्षाको जिम्मेवारी गहन रुपमा बहन गर्न पोष्टमा खटिएका प्रहरीलाई समेत उनले निर्देशन दिए ।

भारतसँग सीमा जोडिएका डडेल्धुराको परशुराम नगरपालिकाको साँदनी बजार, परीगाउँ र अर्सुरानी गाउँमा यसअघि नै सशस्त्र प्रहरीको बीओपी स्थापना भइसकेका छन् । सेल्टुडामा बीओपी स्थापना भएसँगै नेपाल भारत सीमामा हुन सक्ने चोरी सिकारी, तस्करीका साथै आपराधिक घटनामा कमी हुने विश्वास लिइएको छ । बीओपी स्थापना भएसँगै सीमा सुरक्षा हुने भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताइन् । सीमा सुरक्षाका साथै सीमामा हुन सक्ने आपराधिक घटनामा नियन्त्रण गर्नका लागि सहज हुने उनको विश्वास छ ।

नेपाल प्रहरीको रुपालस्थित चौकीको पहुँचबाट टाढा भएकाले सो क्षेत्रमा विगतका दिनदेखि नै चोरी सिकारी हुने गरेको स्थानीयवासी बताउँछन् । (रासस)

प्रकाशित समय १५:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु