गृहपृष्ठ महामारीका बीच पूर्वाधार निर्माण : संक्रमणको उच्च जोखिममा सुर्खेतका मजदुर
महामारीका बीच पूर्वाधार निर्माण : संक्रमणको उच्च जोखिममा सुर्खेतका मजदुर
सावधानी नअपनाई काम गर्दा सुर्खेतमा मात्रै ४० जना मजुदरलाई कोरोना संक्रमण
वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतमा चहान पार्क निर्माण हुँदैछ । करिब एक करोड ७१ लाखको योजनामा पार्क र पर्खाल निर्माणको कामको लागि सम्झौता भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले एउटा कम्पनीलाई उक्त कामको जिम्मा दिएको छ ।
योजनाको प्राविधिक पाटो हेर्दै आएका ईन्जिनियर विशाल अधिकारीका अनुसार उक्त कार्यस्थलमा करिब २५ जनाभन्दा बढी कामदार सहभागी छन् । तर, उनीहरु कसैले पनि स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग गरेको देखिँदैन । सामाजिक दूरी कायम र मास्कको प्रयोग नगरीकनै उनीहरुले निर्माणका काम धमाधम गरिरहेका छन् ।

त्यस्तै वीरेन्द्रनगर ६ हटियालाइन, शिवालयचौक, इत्राम र टेलिकमलगायतका क्षेत्रमा सडक र नालिको काम हुँदैछ । पूर्वाधार विकास निर्देशनालयले श्याम एण्ड शंकर प्रालिलाई दुईवटा प्याकेजमा एउटा सात करोड २९ लाख र अर्को ९ करोड २५ लाखमा सम्झौता गरी कामको जिम्मा दिएको छ । उक्त कामको प्राविधिक पाटो हेर्दै आएका ईन्जिनियर हरी शर्मा धितालका अनुसार हटियालाइन क्षेत्रमा बर्दियाका ६० जना र अन्य क्षेत्रमा दैलेखका करिब २९ जना मजदुरले काम गर्दै आएका छन् । तर, उनीहरुले समेत कुनै पनि स्वास्थ्य सुरक्षाको सामाग्री र विधि प्रयोग गरी काम गरेको देखिँदैन । कार्यस्थलमा काम गर्दा न त सामाजिक दूरी कायम गरिएको देखिन्छ, न त मास्कको प्रयोग नै गरेको देखिन्छ ।

कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक निर्माण, स्तरोन्नति तथा नाला निर्माणलगायतका कामहरु अहिले धमाधम सञ्चालन भइरहेका छन् । कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमणको दर बढ्दै गए पनि कामदारहरुले भने स्वास्थ्य सावधानी नअपनाएका हुन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण रोकिएका पूर्वाधार विकासका कामहरु लकडाउन खुकुलो भएसँगै सञ्चालन भएका छन् । नेपाल सरकारले विकास निर्माणका काम कोरोना भाइरसका कारण नरोक्ने र आवश्यक स्वास्थ्य सावधानी अपनाउन भने पटक–पटक निर्देशन दिँदै आएको छ । तर, कामदारहरु भने सावधानीबिनै काम गर्दे आएका छन् ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले कामदारहरु कोरोनाको जोखिममा भएको बताए । उनका अनुसार पछिल्लो समय मजदुरहरुको छुट्टै तथ्यांक नराखे पनि हालसम्म ४० जना जती मजदुरहरुलाई सुर्खेतमै कोरोना पुष्टि भएको छ । ‘मजदुरहरुले दैनिक मास्क फेरेर लगाउनुपर्ने हुन्छ,’ उनले भने, ‘यसको जिम्मेवारी रोजगारदाताले गर्नुपर्छ ।’ काम गर्ने क्रममा सामाजिक दूरी कायम गर्ने कुरामा समेत मजदुरहरुले ध्यान दिनुपर्ने प्रमुख वाग्लेले बताए ।

यता ठेकेदार कम्पनी श्याम एण्ड शंकर प्रालिका प्रमुख पदम खड्काले कामदारहरु ल्याउँदा क्वारेन्टिन राखेरै ल्याएको बताए । ‘सुरुमा हामीहरुले मजदुरहरुलाई मास्क वितरण गरेका थियौं,’ उनले भने, ‘अहिले सावधानी नअपनाएको भए हामी सुधार गर्नेछौं ।’ उनका अनुसार बर्दिया र कैलालीबाट करिब ६० जनाभन्दा बढी कामदारहरु ल्याई ठेकेदार कम्पनीले काम गर्दै आएको छ ।
प्रकाशित समय १०:५६ बजे

















