गृहपृष्ठ नागरिक जोगाउनु सरकारको पहिलो दायित्व : गोकुल बाँस्कोटा
नागरिक जोगाउनु सरकारको पहिलो दायित्व : गोकुल बाँस्कोटा
फाइल तस्बिर ।
नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले कोरोना भाइरसको महामारीबाट नागरिक जोगाउनु सरकारको पहिलो दायित्व भएको बताएका छन् ।
काभ्रेको पनौती नगरपालिका–७ स्थित नेकपा वडा कमिटीद्वारा आयोजित कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा सरकारले वर्तमान परिस्थितिमिा आफ्ना नागरिक जोगाउनु पहिलो प्राथमिकता भएको बताएका हुन् । ‘महामारीमा सरकारले पहिला नागरिक जोगाउनुपर्छ, त्यसपछि विकासको कामलाई निरन्तरता दिइन्छ, तै पनि विकास त निरन्तर छ नै, विकास नागरिकलाई चाहिने हो, नागरिक नै नरहे विकास के का लागि ?’ बाँस्कोटाले प्रश्न गरे ।
बाँस्कोटाले पाँच वर्षमै ‘धुरन्धर’ विकास हुने हो भने निर्वाचन तथा तीन तहका सरकार र जनाप्रतिधि आवश्यक नपर्ने बताउँदै विकास नयाँ/नयाँ प्रविधिसहित निरन्तर भइरहने विषय भएको बताए । ‘अहिले हामी विकासका कामसँगै जनताको स्वास्थ्य–सुरक्षामा विशेष ध्यान दिइरहेका छौँ, सरकारले आफ्नो क्षमताले भ्याएसम्म स्वास्थ्य–सुरक्षा दिनेछ, नागरिक पनि आफैँ सचेत बन्नुपर्छ,’ उनले भने ।
बाँस्कोटाले पर्यटनको विकासका लागि बनेपामा आन्तरिक विमानस्थलको काम अघि बढिरहेको बताए । उनले नेकपामा उचित व्यक्तिलाई उचित स्थान दिँदै पार्टी निर्माण प्रक्रिया भावना र मर्मअनुसार चलिरहेको दाबी गरे ।
प्रकाशित समय १७:१८ बजे

















