गृहपृष्ठ कालोबजारी गर्नेलाई कैद गर्छौं : आपूर्तिमन्त्री

कालोबजारी गर्नेलाई कैद गर्छौं : आपूर्तिमन्त्री

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी गर्नेहरुलाई कैद सजाय गर्ने बताएका छन् । प्रेस संगठनद्वारा मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले जरिवाना मात्रैले कालोबजारी नियन्त्रण नभए कैद सजायसमेत गर्ने बताएका हुन् ।

बजार अनुगमन दसैंतिहारमा मात्रै नभएर निरन्तर चलिरहने भन्दै कालो बजारियाहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको मन्त्री भट्टले बताए । ‘अहिलेको बजारलाई व्यवस्थित गर्ने जिम्मा हाम्रै हो,’ मन्त्री भट्टले भने, ‘बाहिरबाट आयात हुने खाद्यान्न दाल लगायतका वस्तुहरुमा केही महँगी बढेको छ ।’ लकडाउनका कारण अर्थतन्त्र र रोजगारीमा समस्या सिर्जना भएको बताउँदै इँटा भट्टाहरुमा अधिकांश भारतीय कामदार रहेकाले त्यहाँ नेपाली कामदारलाई काम दिनुपर्ने उनले बताए ।

कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने, धनगढी-अत्तरिया करिडोर स्थापना गर्ने र अर्थतन्त्रले भ्याएसम्म विभिन्न ठाउँमा औद्योगिक क्षेत्रहरु स्थापना गर्दै लैजाने उनकाे भनाइ थियाे । मन्त्री भट्टले बैतडीको दोगडाकेदारमा फस्फोराइड उत्खननका लागि ड्रिलिङ थालिएको र मलखाँदमा प्रयोग हुने फस्फोराइडको परीक्षण सफल भए कैलालीमा उद्योग स्थापना गरिने उनले बताए ।

यसले मलखाँदको अभावलाई परिपूर्ति गर्ने उनको भनाइ थियो । बैतडीदेखि बझाङसम्म यसको खानी रहेको अध्ययनमा उल्लेख छ ।

प्रकाशित समय १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु