गृहपृष्ठ जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्तिसहित ३ जना पक्राउ
जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्तिसहित ३ जना पक्राउ
जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्तिसहित ३ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाको टोलीले दुईवटा मूर्तिसहित चोरीमा संलग्नलाई पक्राउ गरेको हो ।
मूर्तिसँगै चन्दननाथ- १० का ३२ वर्षीय सुशिल विष्ट, तातोपानी गाउँपालिका- ८ का २८ वर्षीय जयलाल थापा र २३ वर्षीय सुदीप रावललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोला जानकारी दिए ।
२०७३ मंसिर ११ गते चन्दननाथ नगरपालिका- ५ मा रहेको चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएको थियो । संस्कृत भाषामा लिपिवद्ध चाँदीको धातुजस्तो दुईवटा मूर्ति भेटिएको एसएसपी बास्ताेलाले जानकारी दिए ।

उनका अनुसार भेटिएका मूर्तिमध्ये एउटामा ‘२०४१ र ०७ र ०८’ लेखिएको छ भने अर्कोमा सम्वत् १९३४ लेखिएको छ । एउटाको तौल ८९० ग्राम र अर्कोको ४५० ग्राम रहेको एसएसपी बास्तोलाले जानकारी दिए । उनका अनुसार चन्दननाथ नगरपालिका- १० बोहोरा गाउँस्थित सुशिल विष्टको जग्गामा सुकेको घाँसको थुप्रोको बीचमा लुकाई राखेको अवस्थामा ती मूर्ति फेला परेको हो ।
यसअघि २०७३ सालमा सोही चोरीमा संलग्न २ जना पक्राउ परेका थिए । २०७३ माघ १४ गते पक्राउ परेका चन्दननाथ मन्दिरका तत्कालीन पूजारी चन्द्रप्रसाद आचार्य र अर्का एकजना जयकृष्ण आचार्यलाई जुम्ला जिल्ला अदालतले २ वर्ष कैद, जनही २० लाख १५ हजार ८०० रुपैयाँ बिगो र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
प्रकाशित समय १८:५६ बजे

















