गृहपृष्ठ एघार महिनासम्म पनि खुलेन हिल्सा नाका

एघार महिनासम्म पनि खुलेन हिल्सा नाका

हिल्साको स्वागतद्वार।

हुम्लाको उत्तरी हिल्सा नाका एघार महिनादेखि बन्द हुँदा करोडौंको व्यापारमा घाटा लागेको छ । यसबाट विभिन्न प्रकारका वस्तुहरुको आयात-निर्यातमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर परेको छ ।
हुम्लाका चार उत्तरी सीमा नाकामध्ये चल्तीको एक मात्र सीमा नाका हिल्सा गत मंसिरदेखि बन्द छ ।

पाँच महिना हिमपातले बन्द रहने नाका कोरोना महामारीले थप सात महिना बन्द भएको हो । नाका बन्द हुँदा घरायसीदेखि व्यापारिक कारोबारहरु ठप्प रहेको उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नामग्याल तामाङले बताए । उनका अनुसार हुम्ला भित्रिने करोडौं रकम आउनबाट रोकिएको छ ।

व्यापार-व्यावसाय वा मजदुरीमा संलग्न हुम्लीले प्रत्येक वर्ष सिजनमा तीन लाखदेखि ११ लाखसम्म कमाउने गरेका छन् । मजदुरी गर्न मात्र तीन चार हजार हुम्लीहरू नाकापारि जाने गरेका छन् । यो हिसाबले एक अर्बन्दा धेरै रकम हुम्ला आउनबाट रोकिएको हो । यो नाकाबाट मात्रै बीस अर्ब रूपैयाँको व्यापार हुने गरेको उद्योग वाणिज्य संघ हुम्लाको आँकडा छ ।

उत्तरी हिल्सा नाका नखुल्दा एकातिर लिमी क्षेत्रमा बन्दोबस्तीमा सामानहरूको अभाव देखिएको छ भने अर्कातिर हुम्लामा आउने अर्बौ रकम र चिनियाँ मालसामानहरूको अभाव रहेको व्यापारी लालबहादुर रावतले बताए ।

नाका खोल्ने विषयमा आवश्यक पहल र समन्वयका लागि जिल्ला प्रशासन कार्यालयमार्फत माथिल्लो निकायमा पटक-पटक ध्यानकर्षणका लागि माग गरे पनि कुनै सुनुवाई हुन नसकेको उद्योग वाणिज्य संघका अध्यक्ष तामाङले बताए ।

प्रकाशित समय १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु