गृहपृष्ठ असई गोविन्द विकको हत्यामा संलग्न व्यक्ति प्रहरीको नियन्त्रणमा
असई गोविन्द विकको हत्यामा संलग्न व्यक्ति प्रहरीको नियन्त्रणमा
नेपाल-भारत सीमा क्षेत्रमा पर्ने मोहना नदीमा मृत भेटिएका असई गोविन्द विकको हत्याको आरोपमा एक दर्जनभन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका उनीहरुले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्जसमेत रहेका असई विकले तस्करी रोक्न खोजेपछि हत्या गरेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् । प्रहरीका अनुसार पक्राउ परेका ती व्यक्तिहरुले तस्करी रोक्न खोजेपछि हत्या गरेर मोहना नदीमा बगाएको स्वीकार गरेका छन् ।
‘तस्करी गरेर ल्याइरहेको सामान बरामद गर्न खोजेपछि प्रहरीमाथि हमला भएको र त्यसपछि असई विकको हत्या गरेको बताएका हुन् ।’ एक प्रहरी अधिकृत भने । शनिबार राति नियमित गस्तीमा निस्केका असईको शव मोहना नदीमा भेटिएको थियो ।
सोमबार मृतक विकको उच्च सम्मानसहित कञ्चनपुरको दोदा घाटमा अन्त्येष्टि गरिएको छ । विकसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १०:५२ बजे

















