गृहपृष्ठ गुञ्जन्छ ‘दसैँ गीत’ : कतै रमाउँछ मन, कतै विरक्तिन्छ पनि
गुञ्जन्छ ‘दसैँ गीत’ : कतै रमाउँछ मन, कतै विरक्तिन्छ पनि
‘कोदो फूल्यो बारीमा लरी लै
धानको बाला झुल्यो खेतैमा’
यो गीत नेपाली संगीत पारखीमाझ अत्यन्त रुचाइएको ‘दसैँ गीत’मध्ये एक हो । हरेक वर्ष दसैँको सेरोफेरोमा रेडियो, टेलिभिजनमार्फत यस्ता दसैँ गीतहरु बाक्लै गुञ्जिन्छन् । यो वर्ष पनि दसैँ आइसकेको छ । दसैँ गीत सुनिन थालिसकेको छ । हरेकजसोले गुन्गुनाउने यस्ता ‘दसैँ गीत’ले दसैँको माहौल बनाएको छ । रौनकता थपेको छ ।
खेतमा धान पाकेर पहेँलपुर भइसकेको, बारीमा कोदो फुलिरहेको । खेतीबाली पाक्न लागेको खुसीयालीसँगै चाडपर्व आइदिँदा गाउँघरको वातावरण उल्लासमय बनेको कुरा चलचित्र मुग्लानको उक्त गीतले व्यक्त गरेको छ । अझ परदेश गएकाहरु घरगाउँ फर्कदा भित्रिने खुशीयालीको वर्णन पनि गीतमा छ ।
यस्ता गीतहरु सुन्दा एकातिर प्रकृतिले नै दसैँलाई स्वागत गरिरहेको आभाष हुन्छ । यो समय गर्मी पनि सकिन लागेको, जाडो पनि आइनसकेको बेला हो । शरद ऋतुको यस समयमा वनजंगलमा देखिने हरियाली, घरआँगनमा फुलेका सयपत्री, मखमलीजस्ता फूलहरुले पनि चाडपर्वको मिठो अनुभूति दिलाउँछ । यति बेला खेतीपातीको व्यस्त जीवनशैलीबाट थोरै भए पनि स्वतन्त्र हुने समय हो । किसानले विश्राम पाएका हुन्छन् । जागिरेहरुले बिदा पाउँछन् । त्यसैले पनि हरेक दसैँ बालकदेखि बच्चासम्म हरेकलाई रमाइलो र रोमाञ्चक र यादगर हुनेगर्छ । अघिपछि परिवारसँग समय बिताउन नपाएकाहरुले यस मौकामा घरपरिवारलाई समय दिन पाउँछन् । लामो समय भेटघाट नभएका आफन्त, साथीभाइसँग भेटघाट गर्ने अवसरसमेत दसैँले नै जुराइदिएको हुन्छ ।
दसैँमा मान्यजनको हातबाट टिका, जमरा र आशिर्वाद लिने गरिन्छ । यसैका लागि पनि परदेशिएका युवाहरु दसैँमा घर फर्किन्छन् । विभिन्न सिलसिलमा घरदेखि टाढा सहर र परदेशसम्म पुगेकाहरु दसैँ सम्झेर घर फर्किएपछि अरुबेला सुनसान बनेका गाउँबस्ती नै उज्यालो बन्छ । बुढेसकाल लागेका आमाबाबुले आफ्ना छोराछोरीको झल्को दसैँमा मेटाउँछन् ।
निधारैमा रातो टिका शिरैमा जमरा सिउरीनी
ठूलाबढाको आर्शीवाद लिने, दर्शने गर्ने निहुरीनी
दसैँ आ’छ, तिहार नि आ’छ, बल्ल मन साह्रै रमा’छ
खुमन अधिकारी र कोपिला छिनालले गाएको यो गीतमा दसैँ आउँदा मन रमाएको, खुसी भएको कुरा पोखिएको छ । एक थरी छन् जसले साँच्चै दसैँलाई ‘दसैँजस्तै’ गरी मनाउन पाएका हुन्छन्, रमाएका हुन्छन् । साथीभाइसँग जमेका हुन्छन् । तर सबैको दसैँ यस्तो हुँदैन । खुसी साट्न पाएका हुँदैनन् । विशेषगरी धैरै जना परदेश भएकाहरुले परिवारसँग दसैँ मनाउन पाएका हुँदैनन् ।
नमुछे आमा दहीँमा टिका, नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर
नारायण रायमाझीको संगीत र उनकै दाजु लक्ष्मण रायमाझीको शब्द रहेको यो गीत ‘दसैँ गीत’मध्ये कारुणिक गीत हो । भारतीय सेनामा कार्यरत लक्ष्मण रायमाझीले लेखेको यो गीत सुरुमा नारायण रायमाझीले आफ्नै स्वरमा रेकर्ड गरेका थिए । त्यसपछि यही गीत कृष्णभक्त राईको स्वरमा पनि पुनः रेकर्ड भएको थियो । पछिल्लोपटक संगीतकार रायमाझी र रचना रिमाल स्वरमा यस गीत रेकर्ड भएको छ । स्वर फरक-फरक भए पनि यसको शब्दले दसैँको न्यास्रोपन बोलेको हुँदा खासगरी लाहुर गएकाहरुको विरह यस गीतमा पाइन्छ । रंगीचंगी फूल फुलेको र लहलह मार्सी धान झुलेको रमणीय परिवेशमा पनि आफू दसैँमा घर आउन नसकेको दुखद परिस्थिति वर्णन गरिएका कारण यस गीत ‘मार्मिक दसैँ गीत’ हो । चाडपर्वमा परिवारका सबै एकैसाथ होस् भन्ने हरेकको चाहाना हुन्छ । तर बाध्यताले धेरैको यस्तो चाहाना पूरा हुँदैन ।
दसैँ आयो खाउँला-पिउँला, सँगै रमाउँला
यसपालि यस्तै भयो, आगौँ जाउँला
कतिपय राष्ट्रसेवक कर्मचारीहरुले चाडपर्वमा बिदा पाउँदैनन् । परिवारलाई सम्झेर उनीहरु आफ्नै सेवा क्षेत्रमा रम्न विवश हुन्छन् । टंक बुढाथोकी र ज्होतन मेहताले उल्लेखित गीतमार्फत यस्तै सन्देश दिएका छन् । खासगरी सुरक्षा निकायमा कार्यरत कर्मचारीहरुले दसैँमा छुट्टी नमिलेपछि अर्को वर्षको दसैँमा घर जाने आशामा हुन्छन् । अर्को वर्ष पनि घर जाने बिदा मिल्ला, नमिल्ला तर उनीहरु त्यही अर्को वर्षको सपना सजाएर रमाउँछन् ।
कहाँ हो समुन्द्रपारि कर्मले डोर्यायो
गाउँ र घरको यादले मलाई पागलै तुल्यायो
कर्तव्यपालनको सिलसिलामा सात समुन्द्रपारि पुगेका नेपालीको कथा बोल्छ यस गीतले । चलचित्र ‘म तिमीबिना मरिहाल्छु’को यो गीतमा संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत सैनिकको ‘दसैँ पीडा’ समेटिएको छ । साथीभाइको रमझममा रमाउन खोजे पनि आफू रमाउन नसकिरहेको, घरको यादले अति पिरोलेको कुरा ति सैनिक गीतमा पोख्छन् ।
दसैँ नै हो कि यो मेरो दशा फर्किआएको
वर्ष न पिच्छे किन यो मेरो टाउको खाएको
योगेश्वर आमात्यले गाएको यो गीतमा चरम गरिबीमा रहेकाहरुको दसैँ चित्रण गर्न खोजिएको छ । हुन पनि दसैँ निम्न वर्गको लागि दशा नै बनिदिन्छ । दसैँ आएसँगै परिवारमा मागहरु बढ्न थाल्छन्, घरको मूलीलाई यसबेला निकै भार पर्दछ, यतिसम्म कि गीतले भनेजस्तै दसैँले टाउँको दुखाउने काम गरेको हुन्छ । अझ, देखासिकी गर्ने बानीका कारण पनि थप समस्या बढ्नेगर्छ । त्यसकारण ‘घाँटी हेरी हाड निल्नुु’ भन्ने उखानलाई यस गीतले सम्झाउँछ ।
वर्षमा दिनका लै लै, हर्षका यी दिन लै लै
दसैँतिहार चाड र वाड, खुसीले सारा भर्यो नि संसार
सुगम पोखरेलको स्वरमा रहेको दसैँसम्बन्धी यस गीतले दसैँ आउँदाको खुसी र आनन्दको पललाई दर्साउन खोजेको छ । वर्षमा एकपटक आउने चाडपर्व बालबच्चा, युवा, वृद्धा सबैलाई उतिकै खुसी दिने गर्दछ । गीतका शब्दहरुमा व्यक्त गरेजस्तै यो चाडमा मानिसले सारा दुखलाई भूलेर रमाउने गर्दछन् ।
थालैभरी रातो रातो अछेता र पाती
बाटैभरी नयाँ नौलो मानिसको ताती
दसैँको समयमा जमरा र टिका लगाउन, नौ डाँडा काटेर आफन्तकहाँ जाने रमाइलो क्षण यही पर्वमा हुन्छ । विदेशमा गएका लाहुरे पनि दसैँको लागि छुट्टी मिलाएर घर आउने गर्छन् । बाटोहरुमा दसैँको लागि लहरै हिँडेका मानिसहरु देख्न सकिन्छ, जसले अझ उमंग थपिदिन्छ । सुनिल गिरीले गाएको यस गीतले पनि यस्तै सन्देश व्यक्त गरेको छ ।
विछोडको पीडा नसकी खप्न दसैँको बेलामा
तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा
गरिबीले ग्रस्त परिवारलाई सुख दिलाउनका खातिर टाढिनुको पीडा केवल टाढिनेहरुलाई थाहा हुन्छ । परिवार, गाउँघरसँग विछोडिनुको पीडालाई सहँदै, मनको एक कुनामा परिवारको मायालाई साँचेर लाखौँ नेपालीहरु परदेशिएका छन् । उनीहरु परिवारको माया र वर्षौसम्म टाढिनुको पीडा खप्न नसकेर पाइरहेको सुविधा र अवसरहरु त्यागेर भए पनि दसैँ मान्न घर आइपुग्छन् । नारायण गोपाल र दिलमाया खातीद्वारा स्वरवद्ध यस कालजयी गीत पनि ‘सदवहार दसैँ गीत’ हो ।
आजभोलि रेडियो टीभीमा गुञ्जने यस्ता थुप्रै ‘दसैँ’ गीतहरु छन् । जसले दसैँको माहौलमा उल्लास थपिरहेका मात्र छैनन्, पीडादायक पनि बनाइरहेका छन् । दसैँ आउँछ, जान्छ । नेपालमा मात्र होइन, नेपाली रहेका हरेक समाजमा चलिरहने जुगौँको परम्परा हो यो । जब दसैँ आउँछ, मौसम, हावापानी, आकाशले त्यसको अनुभूति गराइरहेको हुन्छ । सँगै यस्ता ‘दसैँ गीत’हरुले पनि ।
प्रकाशित समय १७:२३ बजे

















