गृहपृष्ठ रूपन्देहीमा दुई जना संक्रमितको मृत्यु

रूपन्देहीमा दुई जना संक्रमितको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमितत दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका–२ मणिग्रामका पुरुषको मृत्यु भएको छ ।

मंगलबार कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । मधुमेहबाट पीडित रहेकी ती महिलाको उपचारका क्रममा आज बिहान ५ः१५ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

यस्तै कोरोना संक्रमण भएर सात दिनदेखि होम आइसोलेसनमा बसेका तिलोत्तमाका नगरपालिका–२ मणिग्रामका ४७ वर्षीय एक पुरुषको पनि आज बिहान नै मृत्यु भएको छ । लामो समयदेखि श्वासप्रश्वास, उच्च रक्तचापको समस्या रहेका उनलाई आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि क्रिमसन अस्पताल पुर्‍याइएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

प्रकाशित समय १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु