गृहपृष्ठ जहाँ महिलालाई मन्दिर प्रवेश निषेध छ

जहाँ महिलालाई मन्दिर प्रवेश निषेध छ

rajdevi-mandir-newskarobar

जनकपुरमा नवरात्रिको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष घुइँचो लाग्ने गरे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गर्ने परम्परा कायमै छ । प्राचीन मिथिलाको राजधानी तथा अहिले प्रदेश २ को अस्थायी राजधानी जनकपुरको श्रीराम मन्दिरको उत्तरपट्टि रहेको राजर्षी जनककी कुलदेवी राजदेवी मन्दिरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिन्छ । यो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुला गरिएको हुन्छ, त्यही झ्यालबाट पूजाअर्चना गरेर उनीहरू फर्किन्छन् ।

राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलालाई प्रवेशमा रोक लगाइएको मन्दिरका पुजारी राम गिरी बताउँछन् । त्यस्तै रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले प्रवेशमा रोक लगाइएको हो । तान्त्रिक विधिमा पूजा हुने भएकाले महिलालाई मन्दिर प्रवेशमा रोक लगाइएको कतिपयको अनुमान छ ।

परम्परा छाडेर अहिलेसम्म कुनै पनि महिलाले सो अवधिभर भित्र पस्ने आँट नगरेको गिरीले बताए । ‘२०२० सालतिर नरेशानन्द गिरी नामका महन्थले यहाँको बलीप्रथा रोकेर बली नचढाउँदा उनलाई अनिष्ट भएकाले पछि क्षमापूजा गरी बली चढाइएको थियो,’ उनले भने । दसैँमा राममन्दिर र जानकी मन्दिरमा पूजाको विधि विधानमा फेरबदल नभए पनि पूजा गर्ने द्वार र महिलाको प्रवेशमा फरक हुने गरेको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई मन्दिरभित्र प्रवेश निषेध गरिए पनि त्यसपछि उनीहरुका लागि पनि खुला हुने महन्थ गिरीले बताए ।

घटस्थापनादेखि नवमीसम्म मन्दिरमा महिलाको प्रवेशमा रोक लगाउनुलाई अधिकारकर्मी विनोद रविदास धर्मको नाममा धार्मिक अन्धविश्वासको एउटा पराकाष्ठा मान्छन् । यसको विरोधमा जनकपुरवासीले महिलामाथिको यस्तो विभेद र छुवाछुतको अन्त्य गर्नुपर्ने जोडदार माग गर्दै आएका छन् ।

महिला अधिकारकर्मी तथा महिला पुनःस्थापना केन्द्र धनुषाकी संयोजक रोजलिन बछार भन्छिन्, ‘यो कस्तो धर्म संस्कृति ! जहाँ शक्ति स्वरुपा महिलाको पूजा हुन्छ, त्यहीँ महिलालाई नै पूजापाठमा बन्देज र दुर्व्यवहार ! यस्ता परम्परामा सुधार हुनैपर्छ ।’

कतिपय स्थानीयवासी परापूर्वकालदेखि चल्दै आएको परम्परालाई अनादर गर्नु उचित नहुने बताउँछन् । नगराइन नगरपालिका घोडघासका मिथिलेश झा परम्परा र चलिआएको धार्मिक मान्यतालाई चुनौती दिनुको अर्थ नहुने तर्क गर्छन् । ‘देवीदेवताको पूजा आस्थाले हुन्छ । मन्दिरभित्र नै प्रवेश गरेरमात्र पूजा गर्नैपर्छ भन्ने कुनै आवश्यकता छैन,’ उनले भने ।

राजदेवी मन्दिरजस्तै जानकी मन्दिरको गर्भगृहको मुख्यद्वारसम्म पनि बडादसैँमा महिलाको प्रवेश निषेध गरिन्छ । जानकी मन्दिरमा महिलाले झुलनोत्सव हुने स्थानबाट मात्र दर्शन र पूजा गर्न पाउँछन् । (रासस)

प्रकाशित समय १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु