गृहपृष्ठ सवैला र औरहीमा बोक्सी आरोपमा दुई महिलामाथि निर्घात कुटपिट

सवैला र औरहीमा बोक्सी आरोपमा दुई महिलामाथि निर्घात कुटपिट

विमलादेवी ।

धनुषाको सवैला नगरपालिका १ मुसहरी टोल बस्ने २५ वर्षीया विमलादेवी साहतेली र औरही गाउँपालिका १ झिटकहिया बस्ने ३५ वर्षीया जिवछीदेवी यादवलाई बोक्सीको लाञ्छना लगाउँदै छिमेकीहरुले निर्घात कुटपिट गरेको छन् ।

बोक्सीको लाञ्छना लगाउँदै कात्तिक १२ गते साँझ निर्घात कुटपिट गरेको भन्दै सोही ठाउँ बस्ने २० वर्षीय रञ्जित साह र ५५ वर्षीया रासोदेवी साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा कात्तिक १३ गते विमलाले उजुरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले विमलाले दिएको उजुरीको सक्कल फाइल नै इलाका प्रहरी कार्यालयमा दर्ता गरी कारबाही अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए ।

आफ्नी श्रीमतीलाई ‘बोक्सी लगाएको’ भन्दै रञ्जितले कुटपिट गरेको विमलाले उजुरीमा खुलाएकी छन् । रञ्जितलाई प्रहरीले गिरफ्तार गरिसकेको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक रामकुमार यादवले बताए । कुटपिटबाट घाइते भएकी विमलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनको टाउको, निधारलगायत शरीरका विभिन्न भागमा निलडाम छन् ।

यस्तै जिवछीलाई बोक्सीको आरोपमा अपमानजनक व्यवहार गर्दै कुटपिट गरी केश मुण्डन गर्ने प्रयास गरेको भन्दै औरही गाउँपालिका १ झिटकहिया बस्ने ३३ वर्षीय रामनाथ यादव, ३५ वर्षीय जितनारायण यादव, ३१ वर्षीय सुजित यादव, २९ वर्षीय मिथिलेश यादव र ३६ वर्षीया विमलादेवी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा कात्तिक १३ गते उजुरी परेको छ ।

कात्तिक ९ गते राति छिमेकी विहारी मुखियाको घरमा माता दुर्गा भगवतीको पूजा हेरेर फर्किंदै गरेका बेला राति साढे १० बजेतिर आफ्नो ढोकामा चामल र फूल फालेर आफूलाई बोक्सी लगाउन खोजेको भन्दै विमलादेवी यादवले कुटपिट गरेको जिवछीले बताएकी छन् । बोक्सीको आरोप लगाउँदै कुटपिट गर्न थालेपछि उनी फुत्किएर आफ्नो घर आइपुगेकी थिइन् । तर, अरुसमेत जबर्जस्ती घरभित्र प्रवेश गरेर कपालमा समातेर घिसार्दै बाहिर ल्याएर निर्घात कुटपिट गर्दै केश मुण्डन गरी मलमुत्र खुवाउने प्रयास गरेको पीडितको आरोप छ ।

जिवछीलाई बचाउने प्रयास गर्दा १२ वर्षीया छोरी पूजाकुमारीलाई समेत उनीहरूले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते जिवछीको धनुषा अस्पताल जनकपुरमा कात्तिक ९ गते राति नै उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

प्रकाशित समय ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु