गृहपृष्ठ बोबाङमा बाढी-पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

बोबाङमा बाढी-पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

बागलुङको पश्चिम ढोरपाटन नगरपालिका ९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको सोमबार दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो ।

लामो समयसम्म खोजी गर्दासमेत बेपत्ताको अवस्था पत्ता नलागेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालय हुँदै देशभर उनीहरूको हुलियासहितको जानकारी पठाएको छ । खोला किनार र बाढीपहिरो प्रभावित क्षेत्र आसपास सक्रिय खोजी भने रोकिएको छ । ‘हामीले खोजी रोकेका छैनौँ, खोज्ने प्रक्रिया बदलिएको छ,’ प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले भने, ‘सबै जानकारीसहितको विवरण देशभर पठाएका छौँ, सबैको अवस्था अज्ञात छ ।’

जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनमा सबै बेपत्ताका परिवारलाई मृतकसरहको राहत उपलब्ध गराएको छ । भुजीखोलामा आएको बाढीपहिरोका कारण प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि प्रक्रिया सुरु भएको छ । बाढीपहिरोमा परी ढोरपाटन नगरपालिका ९ बोबाङका ३१ वर्षीय जितबहादुर घर्तीमगर, ९ वर्षीय शेसन विक, ४ वर्षीय रवि विक, २२ वर्षीया मनकुमारी विक, २१ वर्षीया टेकमाया विक, १० महिनाकी तिर्सना विक र १५ वर्षीया मनिषा विक बेपत्ता छन् ।

त्यस्तै, सोही ठाउँकै ५५ वर्षीया कौशिला पुल, २६ वर्षीय विलास पुन, ५५ वर्षीया तुलमती घर्ती, पाँच वर्षीय विराज विक, १० महिने शिशु उमिसा विक, ३ वर्षीया करली पुन, ८ वर्षीय मोहन विक र १२ वर्षीया समुद्र विक पनि फेला परेका छैनन् । बेपत्तामध्ये अधिकांश एकाघरका परिवार छन् । बाढीपहिरोमा बेपत्ता भएका ३८ जनामध्ये २२ जनाको शव फे परेको थियो भने एक जना सकुशल भेटिएका थिए । बाढीपहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ का १३० घरमा क्षति पुगेको तथ्यांक नगरपालिकासँग छ । (रासस)

प्रकाशित समय ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु