गृहपृष्ठ अमेरिकी संक्रमण विज्ञ फाउचीलाई निष्कासन गर्ने ट्रम्पको चेतावनी
अमेरिकी संक्रमण विज्ञ फाउचीलाई निष्कासन गर्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफू पुनः राष्ट्रपतिमा निर्वाचित भएमा संक्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् । संक्रमण रोग न्यूनीकरण, नियन्त्रण र व्यवस्थापनसम्वन्धी देशको उच्च जिम्मेवारीमा रहेका फाउचीलाई हटाउने भएका हुन् ।
अमेरिका कोरोनाभाइरसबाट अत्यन्त आक्रान्त बनेका बेला नै हटाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका हुन् । वसन्त ऋतुदेखि नै फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न राष्ट्रपति ट्रम्प असफल भएको र त्यसमा डा. फाउचीको कुरालाई उनले बेवास्ता गर्ने गरेको आरोप लाग्दै आएको थियो ।
डा. फाउचीले अमेरिकामा संक्रमण फैलिन नदिन वा सचेतना गर्न र व्यवस्थापन गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्दै आएको भन्दै कतिपयले उनको प्रशंसा गर्ने गरेका छन् । कोरोनाभाइरसका कारण अमेरिकामा अहिलेसम्म दुई लाख ३६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
फ्लोरिडामा आयोजना गरिएको चुनावी कार्यक्रममा ट्रम्पले कोरोना संक्रमण र त्रास फैलिनुमा डा. फाउची पनि दोषी रहेको आरोप लगाए । चुनावी कार्यक्रममा आफ्ना समर्थकले डा. फाउचीलाई निष्कासन गर्नुपर्ने माग उठाउँदै नारा लगाएपछि राष्ट्रपति ट्रम्पले आफूले जितेपछि सो जिम्मेवारी पूरा गर्ने बताए । ‘यस बारेमा मलाई अरु केही भन्नु पर्दैन, केवल निर्वाचनसम्म पर्खिनुस्, निर्वाचन सकिएपछि मैले तपाईंहरुको सुझाव कार्यान्वयन गर्नेछु,’ उनले भने ।
प्रकाशित समय ०७:२९ बजे

















