गृहपृष्ठ भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे
भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि केहीबेर अघि काठमाडौं आइपुगेका छन् । उनी विशेष भारतीय सेनाकाे विमानमार्फत काठमाडौं उत्रिएका हुन् ।
नरवणे विमानस्थलबाट कोटेश्वर, बालकुमारी, सातदोबाटो हुँदै सोल्टी होटेल गएका छन् । सामान्यतया विशिष्ट अतिथिहरु विमानस्थलबाट सोल्टी लगायतका अन्य होटेल जानका लागि तिनकुने-बानेश्वर मार्ग प्रयोग हुने गरेकाे थियाे ।
नेपाल र भारतका सेनाध्यक्ष एकअर्काको देशका मानार्थ सेनाध्यक्ष हुने प्रचलन छ । नरवणे सोही उपाधि ग्रहण गर्न नेपाल आएका हुन् । नेपालमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनाध्यक्षको उपाधि ग्रहण गर्ने छन् ।
नरवणेले नेपाल-भारत सीमा विवाद चर्किएका बेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए । त्यसयता नेपालमा उनकाे चर्को विरोध भइरहेकाे छ । सोही कारण उनकाे आगमनमा सरकारले सुरक्षा व्यवस्था कडा पारेकाे छ ।
सेनाध्यक्ष नरवणेले पशुपतिनाथको दर्शन गर्ने कार्यक्रमसमेत रहेको छ । नेपाली सेनाको औपचारिक निमन्त्रणमा नेपाल आएका उनी शुक्रबार स्वदेश फर्किने छन् ।
प्रकाशित समय १२:०९ बजे

















