गृहपृष्ठ नदीजन्य पदार्थको अवैध उत्खनन्, वन अध्यक्षका दुई ट्रयाक्टरलाई ओसार्न भ्याइनभ्याई
नदीजन्य पदार्थको अवैध उत्खनन्, वन अध्यक्षका दुई ट्रयाक्टरलाई ओसार्न भ्याइनभ्याई
ठेकेदार र सामुदायिक वनका पदाधिकारी ‘मालामाल’
कैलालीको गोदावरी नगरपालिकाले ढुंगा गिट्टी उत्खननका लागि ठेक्का लगाएको छैन । नगरपालिकाले हालसम्म ठेक्का सम्झौता नगरे पनि असोजदेखि नै खुटिया खोलाबाट अवैध रुपमा ढुंगा गिट्टी उत्खनन् भइरहेको छ ।
ठेकेदार र सामुदायिक वनका पदाधिकारीको मिलोमतोमा राति-राति शिव पार्वती सामुदायिक वनको बाटो हुँदै ढुंगा गिट्टी ओसारपसार भइरहेको हो । स्थानीय तह र प्रशासनकै मिलोमतोमा ढुगां गिट्टी उत्खनन् भइरहेको स्थानीयको दावी छ । उनीहरुका अनुुसार राति ९ देखि बिहान ५ बजेसम्म उत्खनन् हुने गरेको छ ।
गोदावरी नगरपालिका- ८ र ९ को बिचमा पर्ने खुटिया नदीबाट कैलाली जिल्लालाई चाहिने आधा जति ढुंगा गिट्टी आपूर्ति हुनेगरेको छ । असारदेखि भदौसम्म ३ महिना खोलानालाहरु स्थानीय प्रशासनले बन्द गर्ने गरेको छ । खोलानालाबाट ढुगां गिट्टी उत्खननका ठेक्का हाल प्रक्रियामै छ । तर गोदावरी नगरपालिकाले निकासी खुलाइसक्नु पर्ने २ महिना पुग्नै लाग्दासम्म ठेक्का सम्झौता गर्न सकेन । यही मौका छोपेर ठेकेदार र सामुदायिक वनका पदाधिकारीहरुले खुटिया नदीबाट अवैध उत्खनन गरिरहेका हुन् ।
स्थानीय सर्जन ठकुल्लाका अनुसार साँझ ८ बजे पनि ट्याक्टर आएर रातभरी खोलाबाट जंगल किनारमा ढुंगा गिट्टी ओसार्छन् । बिहान भएपछि सम्बन्धित स्थानसम्म लाने गरेको उनले बताए । ठकुल्लाले भने, ‘एक दिन राति ३ बजे म एक्लै खोलामा पुगेँ । म पुगेपछि उनीहरुले काम बन्द गरे ।’ यसबारे प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए । ‘प्रहरी त आए । तर, अवैध उत्खनन भइरहेको क्षेत्रसम्म नपुगी जनशक्ति अभाव र मोटरसाइकलमा पेट्रोल सकिएको बहाना गरी बिच बाटोबाटै फर्किए,’ उनले भने । गोदावरी नगरपालिका- ९ का भरतबहादुर भण्डारीले पनि रातिको समयमा ढुंगा गिट्टी व्यापक तस्करी हुने गरेको बताए । ‘बाहिरबाट लैजाँदा सबैले देख्ने डरले तस्करहरु जंगलको बाटो भएर ढुगां गिट्टी ओसार्छन् । सबैको मिलोमतो छ, कसले नियन्त्रण गर्छ र ?’ उनले भने ।
वैधानिक रुपमा ठेक्का भइसकेको भए नदीजन्य पदार्थहरु मुख्य सडक भएर नै ओसारिने गरिन्थ्यो । तर अहिले अवैध उत्खनन गरी लुकिछिपी सामुदायिक वनभित्रको बाटो प्रयोग गरिरहेका हुन् । मिलेमतो भएका कारण वनका चौकीदारले पनि वास्ता नगरेको स्थानीयहरु बताउँछन् । उनीहरुका अनुसार रातभर निकालिएको ढुगां गिट्टी तस्करहरुले वनभित्र राख्ने गर्छन् । दिउँसो भने त्यहाँबाट अन्यत्र लैजान्छन् ।

तस्करी रोक्न खोज्दा आफूहरुलाई नै ज्यान मार्ने धम्की आएको चौकीदारहरुले बताएका छन् । चौकीदार कर्णबहादुर पौडेलले वनका अध्यक्षकै दुईवटा ट्रयाक्टर ढुगां गिट्टी ओसार्नमा प्रयोग भइरहेको बताए । ‘अध्यक्षकै ट्रयाक्टरले ढुंगा गिट्टी ओसारेपछि हामीले के गर्नु ? कसलाई भन्नु ?’ उनले भने ।
अवैध रुपमा ढुंगा गिट्टी उत्खनन र ओसारपोसार भइरहेको बारे स्थानीयहरुले प्रहरी र स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेत जानकारी गराइसकेका छन् । तर नियन्त्रणका लागि कतैबाट प्रयास नभएको स्थानीयहरुको गुनासो छ । अवैध उत्खननका कारण गाउँ नै जोखिममा पर्नुका साथै राजस्वसमेत गुमिरहेको स्थानीय गणेश उपाध्याय बताउँछन् । जंगल मासिएपछि नदी नै गाउँतर्फ फर्किने खतरा बढेको उनको भनाइ छ ।
गोदावरी नगरपालिकाले भने यसअघि टेण्डर नै नपरेका कारण ठेक्का लगाउन नसकिएको जनाएको छ । हाल पनि ठेक्का प्रक्रियामै रहेको नगर प्रवक्ता सर्मानन्द भट्टले बताए । ‘अहिले टेण्डर परिसकेको छ । अब छिट्टै नै वैधानिक रुपमा ढुंगा गिट्टी उत्खनन् हुन्छ,’ उनले भने । अहिले भइरहेको अवैध उत्खननका बारेमा भने कुनै सूचना प्राप्त नभएको उनले बताए ।
नगरपालिकाले नदीजन्य पदार्थको ठेक्का लगाउन ढिलाई गर्दा करोडौँ राजस्व गुम्नुका साथै ठेकेदार र सामुदायिक वनका पदाधिकारीहरु भने ‘मालामाल’ भइरहेको स्थानीयको आरोप छ ।
प्रकाशित समय १७:५१ बजे

















