गृहपृष्ठ नागोरनो काराबख क्षेत्रको युद्धमा परी ७ हजारभन्दा बढीको मृत्यु
नागोरनो काराबख क्षेत्रको युद्धमा परी ७ हजारभन्दा बढीको मृत्यु
नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर अर्मेनिया र अजरबैजानबीच पछिल्लो समयमा भएको युद्धमा परी अजरबैजानका ७ हजार जनाभन्दा बढीको ज्यान गएको छ ।
गत महिना यी दुई देशबीचको द्वन्द्व चर्किएको र त्यस क्रममा दुवै तर्फबाट हवाई तथा स्थलगत रुपमा पनि हमला भएका समाचारहरु आएका थिए । ती हमलाहरुमा परी ७ हजार ५ सय जनाको ज्यान गएको बताइएको हो । ती सबै अजरबैजानका नागरिक रहेका छन् । दुवै देशले विवादित क्षेत्रमा आफ्नो स्वामित्व रहेको भन्दै एकअर्काको क्षेत्रमा आक्रमण गरेका थिए ।
यी आक्रमणहरुमा यति ठूलो संख्याका नागरिकहरुका अतिरिक्त २६२ ड्रोन, १७ ओटा हेलिकोप्टर र २५ ओटा जहाज पनि परेका छन् । त्यस क्षेत्रमा पछिल्लो समयमा पनि एक अर्कामा आक्रमण जारी नै रहेको छ ।
अर्मेनियाले अजरबैजानमाथि विवादित क्षेत्रको केन्द्रमा नै मिसाइल आक्रमण गरेको आरोप लगाएको छ । उता अजरबैजानले पनि अर्मेनियाले आफ्ना कयौं शहरहरुमा आक्रमण गरेको आरोप लगाएको छ ।
हालैमात्र अर्मेनियाका सैन्य अधिकारीहरुले अजरबैजानले स्टेपनाकर्टमा मिसाइल आक्रमण गरेको बताएका थिए भने अजरबैजानको रक्षा मन्त्रालयले अर्मेनियन सेनाले आफ्नो दोस्रो ठूलो सहर गाजाका साथै टार्डर, बार्डा, बेलगनलगायतका स्थानमा आक्रमण गरेको बताएको थियो ।
दुवै पक्षका बीचमा सयौं पटकसम्म पनि भिडन्त भएको थियो । त्यसमा परेर ठूलो संख्याका मानिस पनि मारिएका छन् । दुवै देशबीचको विवादबीच भइरहेको आक्रमणमा परेर सयौं घरमा क्षति पुगेको छ भने हजारौं मानिस विस्थापितसमेत भएका छन् ।
सो क्षेत्रमा अहिले पनि आक्रमण जारी रहेको छ । यसमा परेर गएको २४ घन्टायता मात्र पनि कम्तीमा १०५ जना मानिस मारिएका अजरबैजानको गृह प्रशासनको सूचना केन्द्रले जनाएको छ । (एजेन्सी)
प्रकाशित समय १३:२९ बजे

















