गृहपृष्ठ हटेन कर्णालीमा चामलको दु:ख
हटेन कर्णालीमा चामलको दु:ख
फाइल तस्बिर ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय मुगुका लागि आर्थिक वर्ष २०७७/७८ मा ११ हजार क्वीन्टल चामल स्वीकृत भएको थियो । कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतबाट चारहजार, धनगढी कार्यालयबाट दुई हजार, राजापुर बर्दियाबाट २५ सय र नेपालगञ्जबाट २५ सय क्वीन्टल चामल यो आर्थिक वर्षमा उक्त शाखामा पुग्नुपर्ने भए पनि हालसम्म २५ सय ९ क्वीन्टलमात्रै चामल मुगु पुगेको छ । बाँकी आठ हजार ४ सय ९१ क्वीन्टल चामल मुगु शाखामा पुग्नै बाँकी छ ।
तिहारको मुखैमा शाखा कार्यालय मुगुमा जम्मा २४ सय क्वीन्टल मात्रै चामल बाँकी रहेको कार्यालयका निमित्त प्रमुख पुष्कर भामले जानकारी दिए । ‘दसैंअघि नै पहिलो चौमासिकमा चामल पठाउनु पर्ने हो । तर चामल भने आउन सकेको छैन,’ उनले भने । भामका अनुसार बजारमा प्रतिबोरा चारसय रुपैयाँभन्दा बढी रकम तिर्नुपर्ने भएकाले नागरिकहरु खाद्यको चामलकै भर पर्ने गरेका छन् ।
प्रादेशिक कार्यालय सुर्खेतदेखि मुगु शाखामा चामल ढुवानी गर्नको लागि खड्का निर्माण सेवा चन्दननाथ नगरपालिका- ७ जुम्लाले जिम्मा लिएको छ । हालसम्म उक्त निर्माण सेवाले ३ सय ३० क्वीन्टल मात्रै चामल ढुवानी गरेको छ । यो आर्थिक वर्षभरी जम्मा चार हजार क्वीन्टल चामल ढुवानीको जिम्मा पाएको कम्पनीले पहिलो चौमासिकमा पठाउनुपर्ने एक हजार क्वीन्टल चामलमध्ये जम्मा ३ सय ३० क्वीन्टल मात्रै चामल ढुवानी गरेको हो । निर्माण सेवाका प्रोप्राइटर रामदेवी खड्काले आफूहरुले चामल एक वर्षसम्म ढुवानी गरिसक्नेगरी ठेक्का सम्झौता गर्ने भएकाले सो अवधिभित्रै चामल ढुवानी गर्ने बताइन् । ‘हामी एकैपटक चारै हजार क्वीन्टल चामल ढुवानी गर्न सक्दैनौं,’ उनले भनिन्, ‘चामल अभाव भएको खण्डमा शाखा कार्यालयले जानकारी गराउँछ ।’ भनेको समयमा ढुवानीका साधनसमेत नपाउँदा चामल ढुवानीमा केही ढिला हुने उनले तर्क गरिन् ।
कम्पनीको नेपालगञ्ज कार्यालयले शाखा कार्यालय मुगुको लागि यो आर्थिक वर्षमा २५ सय क्वीन्टल चामल पठाउनुपर्ने भए पनि हालसम्म कार्यालयले चामल पठाएको छैन । असोज १३ गते चामल ढुवानीको लागि बराल ढुवानी सेवा वीरेन्द्रनगर ४ सुर्खेतले ठेक्का सम्झौता गरेको छ । तर अहिलेसम्म एक क्वीन्टल पनि चामल मुगु पुग्न सकेको छैन । कार्यालयका प्रमुख निर्मल थापाले नेपालगञ्ज कार्यालयबाट चामल उठाएपछि बाटोको म्याद नौ दिन रहेको र हालसम्म चामल भने नउठेको जानकारी दिए । एउटै ढुवानी सेवाले धेरै कार्यालयबाट र धेरै शाखा तथा डिपोहरुमा चामल ढुवानी गर्ने भएकाले पनि समस्या भएको उनको भनाइ छ ।
उता चामल ढुवानीको जिम्मा पाएको बराल ढुवानी सेवा वीरेन्द्रनगर नगरपालिका- ४, सुर्खेतका प्रोप्राइटर रमेश बरालले तत्कालका लागि राजापुर कार्यालयबाट चामल उठाउने काम गर्दै आएको बताए । ‘नेपालगञ्ज र राजापुर दुवै ठाँउबाट मैले नै ढुवानीको जिम्मा पाएको छु । राजापुरमा किसानहरुले धान काट्ने समय भएकाले गोदाम खाली गर्नुपर्ने छ । त्यसैले पहिले राजापुरबाट चामल उठाएको हुँ,’ उनले भने । भनेको समयमा ढुवानीका साधन नपाउँदासमेत चामल आपूर्तिमा समस्या हुने गरेको उनले बताए । ढुवानी सेवाको कारण चामलको अभाव हुन नदिने गरी आफूहरुले काम गरेको बरालले दावी गरे । चामलको मौज्दातलाई समेत इन्क्वायरी गरी सम्बन्धित शाखा, डिपोको समन्वयबाट चामल ढुवानी गर्ने गरेको उनको भनाइ छ । राजापुर कार्यालयबाट बराल ढुवानी सेवाले १ हजार २० क्वीन्टल चामल मुगु पठाइसकेको छ ।
नेपालगञ्ज, राजापु्र, र धनगढीबाहेक खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका २४ स्थानमा खाद्य वितरण गर्ने कार्यालय प्रमुख माधव मिश्रले जानकारी दिए । उनका अनुसार १३ वटा ढुवानीकर्ताहरुले सल्यान, रुकुम पश्चिम र जाजरकोट बाहेकका शाखा कार्यालय, डिपो र बिक्री केन्द्रहरुमा चामल ढुवानी गर्दै आएको छ । चामल ढुवानीका लागि प्रत्येक वर्ष टेन्डर आव्हान गरी एकवर्षको सम्झौता गर्ने गरेको मिश्रले बताए । ‘कार्यालयबाट चामल उठाएको दिनदेखि मात्रै बाटोको म्याद गणना हुन्छ,’ उनले भने, ‘त्यो अवधिमा चामल सम्बन्धित स्थान नपुगेको खण्डमा ढुवानी सेवालाई हर्जना लगाइन्छ ।’ उनले सम्झौताअनुसार चौमासिक रुपमा ढुवानीकर्ताले २५ प्रतिशतका दरले चामल ढुवानी गर्नुपर्ने बताए ।
कार्यालयले यो आर्थिक वर्षमा ६ जिल्लाका २४ स्थानमा ३४ हजार २ सय क्वीन्टल चामल पठाउनुपर्ने कार्यालय प्रमुख मिश्रले बताए । उनका अनुसार शाखा हुम्लामा हवाईमार्गबाट ६ हजार क्वीन्टल र स्थलमार्गबाट १ हजार क्वीन्टल, स्थलमार्गबाट डिपो सर्केगाडमा १ हजार, डिपो श्रीनगरमा १ हजार, याङचु बिक्री केन्द्रमा २ सय ५०, याल्वाङ बिक्री केन्द्रमा २ सय ५०, देउली बिक्री केन्द्रमा ५ सय, तुम्च वालकुना बिक्री केन्द्रमा ८ सय क्वीन्टल चामल पठाउनुपर्ने छ ।
त्यस्तै मुगुको छप्रेला बिक्री केन्द्रमा ५ सय, शाखा कार्यालय मुगुमा ४ हजार, सोरुकोट डिपोमा १ हजार, श्रीकोट डिपोमा १ हजार, पुलु डिपोमा १ हजार, कालै बिक्री केन्द्रमा ३ हजार क्वीन्टल प्रादेशिक कार्यालय सुर्खेतले चामल पठाउनुपर्ने छ । त्यस्तै जुम्लाको रातापानी बिक्री केन्द्रमा ७ सय ५०, शाखा जुम्लामा १९ सय, धापा डिपोमा १ हजार, क्वीन्टल चामल पठाउनुपर्ने सम्झौता छ । त्यस्तै डोप्ला शाखामा २५ सय, डिपो काईगाउँमा ५ सय, डिपो जुफालमा १५ सय, डिपो सहतारामा १२ सय ५० कुइन्टल चामल सुर्खेतले पठाउनुपर्नेछ । त्यस्तै शाखा कालिकोटमा १५ सय, डिपो थिर्पुमा १ हजार र दैलेख जिल्लाको ठाँटीकाँध र चामुण्डा डिपोमा पाँच/पाँच सय क्वीन्टल चामल प्रादेशिक कार्यालय सुर्खेतले पठाउनुपर्ने कार्यालय प्रमुख मिश्रले जानकारी दिए ।
यद्यपि हालसम्म प्रादेशिक कार्यालय सुर्खेतले हवाइमार्गबाट हुम्ला शाखामा २१ सय १७.८५, स्थलमार्गबाट तीन सय, हुम्लाको श्रीनगरमा १ सय ७७.१०, छप्रेलामा ४ सय ९९.८०, हुम्लाको बालकुनामा ३ सय ४०.२०, मुगु शाखामा ३ सय ३०, जुम्ला शाखामा ७ सय १०.३० र कालिकोटमा ४ सय ५० क्वीन्टल लचामल पुगिसकेको कार्यालय प्रमुख मिश्रले बताए । कार्यालयमा अझै २२ हजार ७ सय २५ क्वीन्टल चामल मौज्दात रहेको र बिस्तारै ढुवानीकर्ताहरुसँग सम्झौता गरी पठाउने तयारी भएको उनले जानकारी दिए ।
प्रकाशित समय १९:११ बजे

















