गृहपृष्ठ दरौदी-गोरखा पम्पिङ खानेपानी आयोजना अन्तिम चरणमा
दरौदी-गोरखा पम्पिङ खानेपानी आयोजना अन्तिम चरणमा
दरौंदी खोलाको पानी गोरखा नगरपालिकामा पुर्याउन सुरु भएको बृहत पम्पिङ खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा पुगेको छ । खानेपानी मन्त्रालय अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिब ९८ प्रतिशत सकिएको जनाएको छ ।
दरौदी गोरखा बृहत पम्पिङ खानेपानी तथा सरसफाई आयोजना नामकरण गरेर नगरपालिकाको ३ नम्बर वडादेखि ९ वडासम्मका जनतालाई खानेपानी सेवा पुर्याउन उक्त आयोजना सञ्चालन भएको हो । विशेष गरी दरौंदी खोलाको पानी लिफ्टिङ गरेर गोरखा बजारमा पुर्याई वितरण गर्ने उद्देश्यले आयोजना सञ्चालन भएको हो । दरौंदी खोलाबाट पाँच तहसम्म पानी लिफ्टिङ गरेर गोरखा बजारसम्म पानी पुर्याइएको आयोजना कार्यालयले जनाएको छ । दरौंदी खोलाबाट घलान, जलकिनी, काफलघारी, गैरीकुवा र उपल्लो कोट (गोरखा दरबार)सम्म पानी तानेर गोरखा बजारमा पु¥याइएको आयोजना प्रमुख देवेन्द्र कुमार झाले बताए ।
उक्त आयोजनाबाट करिब साढे २४ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने आयोजना प्रमुख झाको भनाइ छ । गोरखा नगरपालिकाको सो क्षेत्रमा ४ हजार ८ सय ५३ निजी धाराहरु जडान भइसकेको आयोजना प्रमुख झाले जानकारी दिए । सो आयोजनाको ठेक्का सम्झौता लागत रकम ४२ करोड ८ लाख १० हजार रुपैयाँ रहेको छ । स्थानीय व्यक्तिहरुले विद्युतको काममा अवरोध गरेकाले केही समय काम ढिला भएको आयोजना प्रमुख झाले बताए । ‘तर अब आयोजनाको काम पुस मसान्तभित्र सकिने छ,’ उनले भने । पानी प्रशोधन गर्ने प्लान्टमा पानी शुद्धीकरण गर्न फिल्टर मिडिया (ग्रेड अनुसारको गिटी बालुवा) राख्ने र फिनिसिङको काम मात्र बाँकी रहेको आयोजना प्रमुख झाले बताए । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पानी शुद्धीकरण गरेर आम उपभोक्तालाई वितरण गरिने उनले जानकारी दिए ।
यो आयोजना गोरखा जिल्लाकै एक नमुना र बृहत आयोजना हो । गोरखा बजारका आम उपभोक्तालाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले सन् २०१६ मा खानेपानीको सर्भे गरिएको थियो । १५ वर्षका लागि डिजाइन गरिएको उक्त खानेपानी आयोजना निर्माणका लागि २०७४ असार २७ गते ठेक्का सम्झौता भएको थियो । आयोजना कार्यालयका अनुसार ३४ दशमलव ८७ किलोमिटर मुख्य पाइपलाइन तथा ९९ दशमलव ३ किलोमिटर वितरण लाइन र ७ वटा रिजर्भवायर ट्यांकीमार्फत खानेपानी वितरण हुनेछ ।

प्रकाशित समय १५:२१ बजे

















