गृहपृष्ठ ‘मंसिरमा भाइटीका लगाउनुहुन्न’ भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान
‘मंसिरमा भाइटीका लगाउनुहुन्न’ भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्ष मंसिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ ।
समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले शुक्रबार विज्ञप्ति जारी गरी मंसिर १५ गतेसम्म चन्द्रमासअनुसार कार्तिक शुक्ल पक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका लगाउन आह्वान गरेका छन् । वैदिक सनातन हिन्दू धर्मालम्बीले चन्द्रमासअनुसार नै चाडपर्व मनाउने गर्छन् । मंसिर १५ गतेसम्म कात्तिक शुक्ल पक्ष भएकैले विवाहको लग्न १६ गतेपछि मात्र दिइएको पनि उनले जानकारी दिए ।
यस वर्ष गत असोजमा अधिकमास (मलमास) परेकाले चाडपर्व पछि सर्दा भाइटीका मंसिर १ गते परेको हो । भाइटीका दाजुभाइले दिदीबहिनीबाट र दिदीबहिनीले दाजुभाइबाट कुल परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर एकआपसमा गच्छेअनुसार मीठा परिकार, उपहार एवं दक्षिणा दिएर आपसी सद्भाव वृद्धि गर्ने पर्व भएकाले त्यसैअनुरुप मनाउन पनि समितिले आह्वान गरेको छ ।
प्रकाशित समय १७:०३ बजे

















