गृहपृष्ठ कोभिड-१९ खोप कसरी र कहिले आउँछ नेपाल ?

कोभिड-१९ खोप कसरी र कहिले आउँछ नेपाल ?

कोरोना भाइरसविरुद्धको खोपको परीक्षण बारे पछिल्ला दिन आएका सकारात्मक समाचारले खोपको व्यग्र प्रतीक्षा गरिरहेका देशमा आशाको सञ्चार गरेको छ । अमेरिकी कम्पनी फाइजर र जर्मनीको बायोएनटेकले संयुक्त रुपमा विकास गरेको खोपको प्रारम्भिक नतिजा सार्वजनिक भएपछि कोरोना भाइरसको कहरले थलिएको विश्वमा आशाका तरङ्गहरू समेत देखिन थालेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले १२ नोभेम्बर २०२० मा सार्वजनिक गरेको विवरणका अनुसार यतिखेर ४८ कम्पनीका खोप क्लिनिकल ट्रायल अर्थात् मानव परीक्षणको तहमा प्रवेश गरेका छन्। तीमध्ये ११ वटा कम्पनीका खोप क्लिनिकल ट्रायल अन्तर्गत तेस्रो चरणमा प्रवेश गरेका छन्। ठूलो संख्यामा स्वयम् सेवकहरुमा भइरहेको यस चरणको परीक्षणबाट खोपको प्रभावकारिता थाहा पाउन सकिन्छ। त्यस्तै १६४ वटा खोपको प्रि क्लिनिकल परीक्षण भइरहेको छ।

नेपाल सरकारले समेत खोप ल्याउनको लागि अध्यादेश ल्याउने, खोपको आपूर्ति सहज गर्न अध्ययन र तयारी तीब्र पार्न समितिहरु गठन गरेको छ।

सम्भावना भएका खोप कुन कुन हुन् ?

फाइजर र बायोएनटेक कम्पनीको साझेदारीमा निर्माण भइरहेको खोपको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै उक्त कम्पनीले निर्माण गरेको खोप ९० प्रतिशत प्रभावकारी रहेको घोषणा गरेको छ।

फाइजर कम्पनीको वेबसाइटमा प्रकाशित प्रेस विज्ञप्तिका अनुसार २७ जुलाईदेखि सुरु भएको क्लिनिकल परीक्षणमा ४३ हजार पाँच सय ३८ जना सहभागी छन्। तीमध्ये ३८ हजार नौ सय ५५ जनाले दोस्रो डोज लिइसकेका छन्।

त्यसक्रममा सहभागीमा खोपको सुरक्षा सम्बन्धी कुनै समस्या देखा नपरेको जनाइएको छ। उक्त्त परीक्षणमा  गरिएको अनुमान अनुसार सन् २०२० सम्ममा उक्त खोपका पाँच करोड डोज र सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड डोज उत्पादन गरिने फाइजरले जनाएको छ।

फाइजर र बायोएनटेकले तेस्रो चरणको तथ्याङ्क वैज्ञानिकहरूबीच अन्तरसमीक्षा अर्थात् पीयर रिभ्युका लागि प्रकाशनमा पठाउने योजना रहेको बताएको छ।

यो खोप पहिलो पटक लिएको तीन साताभित्र दोस्रो पटक लिनुपर्छ ।

द न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार यो प्रारम्भिक चरणमा रहेकोले खोपले कति राम्रोसँग काम गर्छ भन्न सकिँदैन। फाइजरको नयाँ नतिजाले बालबालिका र वृद्धहरूलाई कस्तो असर गर्छ भनेर समेत स्पष्टसँग भन्न सकिने अवस्था छैन।

विज्ञको भनाइ के छ?

जनस्वास्थ्य वैज्ञानिक डा समिरमणि दीक्षितले कोभिड-१९ विरुद्धको खोप अन्तर्राष्ट्रिय बजारमा आगामी दुई-तीन महिनामा आउनेजस्तो देखिएको भन्दै त्यस्तो अवस्थामा नेपालले तीमध्येबाट छनौट गर्दा केही पक्ष केलाउनुपर्ने बताएका छन्।

उनी भन्छन्, “नेपालमा ल्याउँदा कुनको प्रक्रिया पारदर्शी र सुरक्षित छ, ध्यान दिनुपर्छ । अहिले बनिरहेका भ्याक्सिनमध्ये ५/६ वटा भ्याक्सिनको विश्वसनीयता र प्रभावकारिता राम्रो छ।”

“अहिले आएको फाइजर, एस्ट्राजेनिका/ अक्सफोर्ड, सिनोभ्याक र रूसी भ्याक्सिन पनि ९२ प्रतिशत प्रभावकारी छन् भनेर आइसकेको छ।”

विज्ञहरूका अनुसार कुन खोप कति प्रभावकारी भनेर जाँच्ने एउटा आधार त्यो कति धेरै मानिसमा क्लिनिकल ट्रायल गरिएको छ भन्ने हो। डा दीक्षित थप्छन्, “कम्तीमा ४०/५० हजार मानिसमा परीक्षण भएको हुनुपर्यो। ९५ प्रतिशत प्रभावकारी र माइनस ७० डिग्रीमा राख्नुपर्ने किन्नुभन्दा ९० प्रतिशत प्रभावकारी तर २-४ डिग्रीमा भण्डारण गरे पुग्ने किन्नुपर्छ।”

खोप तयार भइसकेपछि नेपालमा भण्डारणको क्षमता र एकैपटक धेरैलाई वितरण गर्न चुनौती देखिने भन्दै चिन्ताहरू व्यक्त भइरहेका छन्। नेपालले आपुर्ति प्रणालीमा लगानी गर्नुका साथै सस्तोमा खोप किन्न पहल गर्नुपर्ने विज्ञहरुको सुझाव छ।

फाइजरको खोप छिटो हुने देखिए पनि नेपालका लागि हालको अवस्थामा माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने र मुलुकभर गाउँ-गाउँमा लैजान चुनौतीपूर्ण हुने देखिन्छ। भण्डारण गर्न प्रयोग हुने फ्रिजका लागि उर्जा अर्को चुनौती हुनसक्छ। एस्ट्राजेनिकाको खोप ४-८ डिग्रीमा राख्न सकिने भएकाले सो खोप हाम्रो लागि उपयुक्त्त हुने देखिएको दीक्षित बताउँछन्।

प्राविधिक जटिलताहरू उच्च भए पनि फाइजर चाँडै आउने भए जोखिमयुक्त समूहको लागि त्यो सीमित मात्रामा ल्याउन सकिने विज्ञहरू बताउँछन्। तर आम नागरिकलाई भने त्यसपछि आउन लागेका पूर्वाधार कम लाग्ने या अहिलेकै क्षमताले भ्याउने खोपहरू ल्याउनुपर्ने उनीहरू सुझाउँछन्।

सरकारको तयारी के छ ?

नेपाल सरकारले गठन गरेको कोभिड-१९ विरुद्धको खोपबारे अध्ययन गरी सुझाव दिन बनेको पाँच सदस्यीय कार्यदलको सदस्य-सचिव रहेका स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले विश्वमा निर्माण भइरहेको खोपले पनि अन्तिम तथ्याङक दिन नसकेकोले अन्तिम धारणा बनाइहाल्न नहुने बताउँछन्।

“फाइजरको पनि प्रारम्भिक नतिजा हो। खोप सफल हुन्छ-हुन्न भनी हाल्न सकिन्न,” उनले भने। तर पनि नेपालको ७० प्रतिशत जनसंख्यालाई कुनै न कुनै बेला खोप चाहिन्छ भन्ने आधारमा सरकारले तयारी थालेको उनी बताउँछन्।

बाँकी तीस प्रतिशतका लागि नि? डा शर्मा गौतम भन्छन्: “अहिले बालबालिका र वृद्धका लागि खोपको परीक्षण नै भएको छैन । वयस्कको लागि मात्रै भएको छ।” नेपालको हावापानीमा प्रत्यक्ष अनुकुलता देखिनेगरी खोपहरू परीक्षण नभएका भन्ने समेत चर्चाहरू भएका छन्। तर गौतमका अनुसार अहिलेसम्म बनेका खोपहरू एक ठाउँमा प्रयोग गरिएको अन्यत्र पनि काम गरेको पाइएको छ।

भण्डारणको बिषयमा उनको भनाइ छ: “पूर्वाधारको अल्ट्रा कोल्ड चेन हाम्रोजस्तो मुलुकमा छैन। अहिलेको अवस्थामा २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा राख्न सकिने खोप भए हामीलाई सजिलो हुन्छ।”

सम्बन्धित देशका नियमनकारी निकायले प्रमाणित गरेका खोपलाई विश्व स्वास्थ्य संगठनले सुरुमा आपतकालीन प्रयोगको लागि अनुमति दिनेछ।

नेपालले नीतिगत निर्णयका लागि मन्त्रिपरिषद् बैठकमार्फत् स्वास्थ्य, अर्थ र परराष्ट्र मन्त्रालयका सचिवहरू सदस्य रहेको एक उच्च स्तरीय समिति गठन गरेको छ। उक्त समितिले विश्वभर कहाँ–कहाँ खोप बनिरहेको छ, कहिले र कुन प्रक्रियाबाट ल्याउने भन्नेबारेमा अध्ययन तथा तयारी गर्ने बताइएको छ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले परराष्ट्र मन्त्रालयको भुमिका कूटनीतिक हिसाबले विभिन्न देशसँग पत्राचार गर्ने, समन्वय गर्ने रहने बताइन्।

बेलैमा खोप भित्र्याउन मद्दत पुग्नेगरी तयारी गरिने बताउँदै उनले भनिन्, “मन्त्रिपरिषद् निर्णय गरेको छ । अब एउटा टिम बन्छ । त्यसपछि कामको बाँडफाँड भएपछि भन्न सजिलो होला। तिनै मन्त्रालयका सचिवहरु उच्च स्तरमा लागि रहनुभएको छ। समितिले कार्यप्रक्रिया आफैले तोकेर अगाडि बढ्ने हो।”

सरकारले खोप तयार हुनेबित्तिकै आयात गर्न सहज होस् भनेर कानुनी प्रक्रिया सहज बनाउन अध्यादेश ल्याउने भएको छ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुशार स्वास्थ्य मन्त्रालयले तयार गरेको अध्यादेशको मस्यौदा कानुन मन्त्रालयले समेत सहमति दिएपछि निर्णयको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश भइसकेको छ।

(साभारः साउथ एसिया चेक/पानस साउथ एसिया)

प्रकाशित समय १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु