गृहपृष्ठ अन्तरदेशीय अपराध नियन्त्रण र अनुसन्धानका लागि आपसी सहकार्य आवश्यक : आइजीपी थापा क्षेत्री

अन्तरदेशीय अपराध नियन्त्रण र अनुसन्धानका लागि आपसी सहकार्य आवश्यक : आइजीपी थापा क्षेत्री

प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले चीनमा सुरु भएको Fifth Lianyungang Forum मा प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फेरेन्सद्वारा बुधबार सम्बोधन गरेका छन् । उक्त फोरममा सम्बोधन गर्दै आइजीपी थापा क्षेत्रीले संगठित र बढ्दो अन्तरदेशीय अपराधको प्रभावकारी रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि विश्वभरका कानुन कार्यान्वयन गर्ने निकायहरुबीच आपसी सहयोग र सहकार्य आवश्यक रहेको विचार व्यक्त गरे ।

यस्तो फोरमको आयोजना र छलफलबाट विज्ञान र प्रविधिको विकाससँगै भित्रिएका नवीन सुरक्षा चुनौतीको सफलतापूर्वक समाधान गर्न सहज हुने धारणासमेत उनले व्यक्त गरे । आइजीपी थापा क्षेत्रीले साइबर अपराध, अन्तर्राष्ट्रिय संगठित अपराध, सीमा अपराध, मानव बेचबिखन, आर्थिक अपराध, लागूऔषध ओसारपसारजस्ता अपराधको नियन्त्रण गर्न यो फोरमको आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । अपराध नियन्त्रणको क्षेत्रमा विद्यमान ऐन कानुनको अधिनमा रही सूचनाको आदानप्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै सवल साझेदारी स्थापनाका लागि हातेमालो गरी अघि बढ्न नेपाल प्रहरी सदैव तयार रहेको उहाँले बताए ।

बिहीबार सम्पन्न हुने उक्त फोरममा ३० भन्दा बढी राष्ट्रका आन्तरिक मामिलामन्त्री, प्रहरी प्रमुख र प्रतिनिधिहरुले भिडियो कन्फेरेन्समार्फत सुरक्षा साझेदारी र सहयोग सम्बन्धमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित समय १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु