गृहपृष्ठ २० महिनापछि ‘बोइङको ७३७ म्याक्स’को व्यावसायिक उडान सुरू

२० महिनापछि ‘बोइङको ७३७ म्याक्स’को व्यावसायिक उडान सुरू

बोइङ कम्पनीको ७३७ म्याक्स श्रृंखलाको यात्रुवाहक विमानले ब्राजिलमा व्यावसायिक उडान बुधबारदेखि सुरु गरेको छ । बोइङ ७३७ म्याक्स मोडेलका दुई वटा विमान लगातार दुर्घटनाग्रस्त भएपछि झण्डै २० महिना पहिले यी विमानको उडान विश्वभर नै स्थगित गरिएको थियो ।

ब्राजिलको सस्तो विमान सेवा गोलले सञ्चालन गरेको यो विमानले ब्राजिलको साओ पाउलोबाट पोर्टो अलेग्री सहरको उडान गरेको थियो । तर अन्य विवरण दिन विमान कम्पनीले अस्वीकार गरेको छ । सन् २०१९ को मार्चमा गोल विमान कम्पनीले अर्को सूचना जारी नहुँदासम्म बोइङ ७३७ म्याक्स ८ शृंखलाका विमानहरु नउडाउने घोषणा गरेको थियो ।

इन्डोनेसिया र इथियोपियामा भएका दुई वटा दुर्घटनामा ३४६ जना यात्रुको मृत्यु भएपछि विश्वभर नै बोइङ ७३७ म्याक्स बिमानहरु थन्किएका थिए । यसै महिनाको सुरुमा अमेरिकन एयरलाइन्सले संचालन गरेको ७३७ म्याक्स विमानले अमेरिकी सहर टेक्सासबाट ओक्लाहोमाको ४५ मिनेटको यात्रा गरेको थियो । गत महिना अमेरिकी नागरिक उड्डयन प्रशासनले ७३७ म्याक्स विमानको व्यवसायिक उडान सञ्चालन गर्न सक्ने गरी यसअघि लगाएका प्रतिबन्धहरु फुकुवा गरेको थियो ।

प्रकाशित समय १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु