गृहपृष्ठ सहयाेगी बहुमुखी महाविद्यालयमा बुहारीलाई निःशुल्क शिक्षा

सहयाेगी बहुमुखी महाविद्यालयमा बुहारीलाई निःशुल्क शिक्षा

नगर क्षेत्रभरका बुहारीलाई स्नातक तहमा निःशुल्क शिक्षा दिँदै आएको सहयाेगी बहुमुखी महाविद्यालयको भवन शिलान्यास गरिएको छ । गोकर्णेश्वर नगरपालिका–४ मा रहेको महाविद्यालयका नाममा भोगाधिकार रहेको २४ रोपनी जग्गामध्ये चार रोपनी दिइएपछि प्रारम्भिक सहयोग जुटाएर भवन शिलान्यास गरिएको हो ।

गत आर्थिक वर्षमा नगरपालिकाले छुट्याएको २० लाख रूपैयाँ र सांसद पूर्वाधार कोषबाट प्राप्त ५० लाख रूपैयाँ गरी ७० लाखको बोलपत्र गरी भवन शिलान्यास गरिएको महाविद्यालय सञ्चालक समितिका अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठले जानकारी दिए । दुईतले आठकोठे भवन निर्माण गर्न १५ करोड सात लाख लागत अनुमान गरिएको छ । चालू आर्थिक वर्षमा पनि नगरपालिकाले ४० लाख बजेट विनियोजन गरेको छ । २०६० सालमा स्थापित महाविद्यालयमा हाल १०८ विद्यार्थी अध्ययनरत छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महाविद्यालयमा अध्ययन गरिरहेका १९ बुहारीलाई निःशुल्क शिक्षा दिइएको छ । निःशुल्क शिक्षा दिन नगरपालिकाले समेत सहयोग गर्दै आएको छ । महाविद्यालयमा ४१ छात्रासमेत अध्ययन गरिरहेका छन् । कूल विद्यार्थीमध्ये महिलाको संख्या बढी रहेको महाविद्यालय प्रशासनले जनाएको छ । महाविद्यालयको भवन नभएकै कारण हाल व्यवस्थापन संकायअन्तर्गत बिबिएसको मात्र कक्षा सञ्चालन गरिएको छ । भवन बनेपछि अन्य संकायको समेत अध्यापन गराइने जनाइएको छ ।

भवन शिलान्यास गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाइ, बुझाइ र सिकाइ सीप सिक्न तथा कार्यान्वयन गर्न हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सांसद कृष्णबहादुर राईले शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने बताए । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले आवश्यकतानुसार उच्च शिक्षामा पनि लगानी गरिरहेकाले आगामी दिनमा समेत बढाइने प्रतिबद्धता जनाए । नगर उपप्रमुख शान्ति नेपालले नगरपालिकाका तर्फबाट बुहारी एवं छोरी शिक्षालाई प्रोत्साहन गर्न गत वर्ष शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिए । महाविद्यालयले ‘गोकर्णेश्वर नगरपालिकाको प्रत्येक घर, अनिवार्य स्नातक’ नाराका साथ बुहारी एवं छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्दै आएको छ । (रासस)

प्रकाशित समय १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु