गृहपृष्ठ उखुको अनुदान रकमसमेत पाउनै मुस्किल

उखुको अनुदान रकमसमेत पाउनै मुस्किल

बटेश्वर र मिथिला नगरपालिकाका किसानहरुले मात्रै उखु मिलबाट ७० लाख रुपैयाँ पाएका छैनन्

उखु काट्दै कृषक । फाइल तस्बिर ।

धनुषामा गत वर्ष चिनी मिललाई बेचेको उखुको रकम नपाउँदा किसानहरु निकै चिन्तित बनेका छन् । किसानहरुले चिनी मिललाई गत वर्ष ०७५/७६ देखिको उखुको अनुदान रकमसमेत पाएका छैनन् । सिरहाको मिर्चौया नगरपालिकाको चन्द्रअयोध्यापुरमा अवस्थित हिमालयन चिनी मिल र महोत्तरीको गौशाला नगरपालिकाको रामनगरको एभरेष्ट सुगर मिलमा उखु बेच्दै आएका किसानले मूल्यसमेत नपाउँदा किसान चिन्तित बनेका हुन् ।

पछिल्लो समय धनुषाका उखु किसानहरुले पनि सिरहाको हिमालयन चिनी मिललाई उखु बेच्दै आएका छन् । मिथिला नगरपालिका–३ हरिहरपुर बस्ने शिवकुमार महतोले गत वर्ष हिमालयन चिनी मिललाई सात सय क्विन्टल उखु बेचेका थिए । उखु बेचेवापत मिलबाट पाउनुपर्ने रकम दुई महिनापछि पाए । तर, उखुमा सरकारले दिँदै आएको अनुदानको रकम भने अहिलेसम्म पाएका छैनन् ।

गत वर्ष सरकारले उखुको प्रति क्विन्टल ५३६ रुपैयाँ मूल्य तोकेको थियो । ५३६ मध्ये ४७१ रुपैयाँ मिलले र ६५ रुपैयाँ सरकारले उखु किसानलाई अनुदान दिँदै आएको छ । महतोले भने, ‘प्रति क्विन्टल ४७१ को दरले मिलले करिव ७ सय क्विन्टल उखुको भुक्तानी दिए पनि अनुदान वापतको ४० हजार रुपैयाँ अझै पाउन सकेको छैन । महतो मात्रै होइनन् । बटेश्वर र मिथिला नगरपालिकाका किसानहरुले त दुई वर्षदेखिको अनुदानसहित उखुको मूल्य ७० लाख रुपैयाँ पाएका छैनन् । २० बिगाहामा उखु खेती गर्दै आएका क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका महेन्द्र राउतका अनुसार अन्य जिल्ला जस्तो धनुषाका उखु किसानहरुलाई मिलको तर्फबाट खासै बाँकी बक्यौता खासै छैन । तर, सरकारले दिँदै आएको अनुदान रकम भने समयमै नपाउँदा किसानहरुलाई मर्का परेको छ । सरकारी तर्फबाट आउने अनुदानको रकम मिलले भुक्तानी गर्नुपर्ने उनले बताए ।

हिमालयन चिनी मिलका उखु महाप्रबन्धक अवधप्रसाद यादवले नेपालमै आफ्नो मिलको भुक्तानी प्रक्रिया उत्कृष्ट रहेको दाबी गरेका छन् । उनले भने, ‘हामीले उखु मिलमा पुगेको दुई हप्तामै किसानलाई भुक्तानी दिँदै आएका छौं । अहिलेसम्म हामीले सबै किसानको भुक्तानी पनि गरिसकेको छौं ।’ उनका अनुसार सो मिलले धनुषाको एउटा सेन्टरको अनुदानवाला रकम मात्रै भुक्तानी हुन बाँकी रहेको उनले बताए । उखु मिलले तिर्ने १३ प्रतिशत भ्याटबाटै सरकारले किसानलाई प्रति क्विन्टल ६५ रुपैयाँको दरले अनुदान दिने गर्छन् । ‘हामीले सरकारलाई भ्याट पनि तिरी सकेका छौ, फाइल पनि समयमै पठायौं ।’ मन्त्री, सचिव हेरफेर हुने कारणले फाइल अगाडि बढ्न नसकेको उनले बताए ।

‘अब केही दिनमै बाँकी रहेको रकमसमेत भुक्तानी हुन्छ ।’ उनले भने । गत आर्थिक वर्ष २०७५/७६ का अनुदान तर्फका धनुषाका मात्रै केही किसानका करिब ७० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको उनले बताए । आर्थिक वर्ष २०७६/७७ मा किसानहरुलाई अनुदानतर्फ रकम सुदभर्ना गरेर तिरेको महाप्रबन्धक यादवले बताए ।

प्रकाशित समय १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु