गृहपृष्ठ बूढानीलकण्ठ मन्दिर आइतबारदेखि भक्तजनका लागि खुला हुँदै
बूढानीलकण्ठ मन्दिर आइतबारदेखि भक्तजनका लागि खुला हुँदै
विश्वव्यापी कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि गत वर्षको चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबारदेखि भक्तजनका लागि खुला गरिने भएको छ । कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर आइतबारदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्न लागिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले जानकारी दिए ।
बिहान सवा ८ बजे मन्दिरमा आयोजना गरिने कार्यक्रममा बागमती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले मन्दिर खुला गरिएको घोषणा गर्नेछन् । नौ महिनासम्म मन्दिर बन्द गरिए पनि नित्य पूजा, आरती भने नियमति भइरहेको थियो । मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यो वर्ष कोरोनाका कारण स्थगित भएको थियो ।
बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान रहेको धार्मिक विश्वास छ । ठूलो शिलामा जलमाथि भगवान शयन गरेको अलौकिक मूर्ति विश्वमै अद्वितीय मानिन्छ । यसैले विश्वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन् । चैत ११ गतेदेखि नै बन्द रहेको पशुपतिनाथ मन्दिर पनि पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिएको छ ।
प्रकाशित समय २१:१२ बजे




















