गृहपृष्ठ भाग्य र भविष्यसँग जोडिएका पक्की पुल
भाग्य र भविष्यसँग जोडिएका पक्की पुल
फाइल तस्बिर
कास्की जिल्लाको पूर्वी उत्तरी भेगस्थित मादी गाउँपालिकामा सञ्चालित इदी, वार्दी र मकैखोलाका पक्की पुलको निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । कोरोना कहरका बाबजुद स्वास्थ्य, सुरक्षाप्रति संवेदनशील बन्दै निर्माण कम्पनीले पुलको निर्माण कार्यलाई अघि बढाएका हुन् ।
मादी गाउँपालिकाको भाग्य र भविष्यसँग प्रत्येक्ष सरोकार राख्ने यी पुलको निर्माण कार्यले तीव्रता पाएपछि स्थानीयमा पनि उत्साह जगाएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम) ले जानकारी दिए । निर्माणाधीन तीनवटै योजना गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सञ्चालित हुन् । यी योजना प्रदेश सरकारको कूल ११ करोड २७ लाख ५८ रुपैयाँको लागतमा निर्माण भइरहेका छन् ।
राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत इदी र वार्दीखोला पुल पर्दछन् भने मकैखोला मोटरेवल थुम्सीकोट, भाचोक-कमदीमार्गमा पर्दछ । प्रदेश सरकारले निर्माण गरे पनि उक्त पुल लोकमार्गको मापदण्डअनुरुप नै भएको आयोजनाले जनाएको छ । मादी गाउँपालिकाको वडा नं ४ र ११ जोड्ने इदीखोला मोटरेवल पुल चार करोड ४२ लाख १७ हजार रूपैयाँको लागतमा निर्माण भइरहेको छ । आरसिसिटी बिम प्रविधिको ३१.२ मिटरको सो पुल गजेन्द्र निर्माण सेवा प्रालि स्याङ्जा निर्माण गर्ने जिम्मा पाएको हो ।
आगामी २०७८ साउन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको सो पुल निर्माणमा यतिखेर दैनिक दुई वटा एस्कासाभेटरसहित २० जनाभन्दा बढी मजदूरले काम गरिरहेका छन् । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गतकै अर्को वार्दीखोला मोटरेवल पुलको पनि निर्माण कार्यले तीव्रता पाएको छ । प्रि स्ट्रेस्ड प्रविधिको ३६.२ मिटर लम्बाइको सो पुल प्रदेश सरकारको चार करोड ५२ लाख ७२ रूपैयाँको लागतमा निर्माण सुरु गरिएको हो ।
नयाँ बाटो भदौरे निर्माण सेवा प्रालिले पुल बनाउन जिम्मा पाएको सो पुल आगामी २०७८ असोजमा सम्पन्न सम्पन्न गर्ने गरी सम्झौता भएको छ । निर्माण कार्यले तीव्रता पाएसँगै तोकिएका समयमा सम्पन्न गर्ने निर्माण सेवाले जनाएको छ । मादी गाउँपालिकाकै थुम्सीकोट, भाचोक-कमदीमार्गमा पर्ने मकैखोलामा दुई करोड ३२ लाख ९६ हजार रूपैयाँको लागतमा निर्माण गरिने मोटरेवल पुल पनि निर्माण अघि बढेको छ । प्रदेश सरकार र गजेन्द्र निर्माण सेवा प्रालिबीच भएको निर्माण सम्झौताअनुसार आगामी २०७८ साउनभित्रमा निर्माण गरिने सो पुलको लम्बाइ साढे पच्चीस मिटर रहेको छ ।
पुल निर्माणसँगै वर्षभरि नै यातायातका साधन सञ्चालन हुने हुँदा यस क्षेत्रमा उत्पादित कृषिको बजारीकरणमा सहयोग पुग्ने मादी गाउँपालिका-७ का अध्यक्ष सत्यराज सापकोटाले जानकारी दिए । पर्यटकीय क्षेत्र ताङ्तिङको पर्यटन प्रवर्द्धनमा सडकको महत्वपूर्ण भूमिका रहने मादी-२ का वडाध्यक्ष एकजंग गुरुङले बताए ।
निर्माणधीन तीनवटै पक्की पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक महिनाअघि एकैदिन शिलान्यास गरेका हुन् । कार्यक्रममा पूर्वमन्त्री खगराज अधिकारी, भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेत, प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलगायतले पुल निर्माणमा स्थानीय जनताको सक्रियता आवश्यक रहने सामूहिक धारणा व्यक्त गरेका थिए । गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार पुल निर्माण कामको अनुगमन भइरहेको छ ।
तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता हुँदैन । ती तीन वटा पुल निर्माण भइरहेको र मादी नदीमा ज्याउदु, भगवतीटार, घुम्ले, भैँसेलगायत विभिन्न स्थानमा मोटरेवल पुल निर्माण सम्पन्न भई मादी गाउँपालिका गण्डकी प्रदेशको राजधानी पोखरासँग यातायात जोडिएको छ । ‘यी पुलसहित मादी नदीमा कूल नौ वटा मोटरेवल पुल निर्माण सम्पन्न भएर स्थानीय जनताले सुविधा पाउनुका साथै सडकलाई उत्पादनसँग जोडिने गरी अन्य विकास निर्माणसँगै कृषिमा जोड दिइएको छ,’ उनले भने । पुल निर्माणले गाउँपालिकाको आर्थिक समृद्धिको ढोका खुल्ने विश्वास लिइएको छ ।
प्रकाशित समय १५:३२ बजे

















