गृहपृष्ठ धान ५१ हजार मेट्रिक टन कम फल्यो : एफएओ
धान ५१ हजार मेट्रिक टन कम फल्यो : एफएओ
सरकार र कृषिसम्बन्धी अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र संघीय संस्थाबीच नेपालमा धानको उत्पादनसम्बन्धी तथ्यांक बाझिएको छ । समयमा रासायनिक मल उपलब्ध गराउन नसकेको, लकडाउनका कारण भन्दै फौजी किरा मार्ने विषादी उपलब्ध गराउन नसकेको सरकारले धानको उत्पादन बढेको बताएको छ भने संयुक्त राष्ट्र संघीय कृषिसम्बन्धी निकायले उत्पादन घटेको बताएको छ ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ)ले यस वर्ष नेपालमा झन्डै ५१ हजार मेट्रिक टन धान कम फलेको बताएको छ । सरकारले गत वर्षका तुलनामा करिब ७० हजार मेट्रिक टन धान बढी उत्पादन भएको दाबी गरिरहेको बेला एफएओको नयाँ विश्वव्यापी विश्लेषणले भने अघिल्लो वर्षका तुलनामा करिब १ प्रतिशत उत्पादन कम भएको देखाएको हो ।
यो वर्ष धान लगाइएको क्षेत्रफलमा केही वृद्धि भए पनि मुख्य खेतीको सिजनमा नै सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेको, फौजी किराको प्रकोप, बाला सुक्नेलगायतका कारणले उत्पादन करिब १० देखि २५ प्रतिशतसम्म कम भएको किसानहरूले बताउने गरेका छन् । भारतसँग सीमा जोडिएका केही जिल्लामा थोरै अनुपातले धानको उत्पादन बढे पनि भित्री मधेश र मध्य पहाडी जिल्लाका किसानहरूले उत्पादन गत वर्षभन्दा घटेको बताएका हुन् ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका अनुसार यस वर्ष नेपालमा ५५ लाख मेट्रिक टन धान फलेको छ, यो गत वर्ष (सन् २०१९) को भन्दा ५१ हजार मेट्रिक टन कम हो । सन् २०१९ मा नेपालमा ५५ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको संगठनले जनाएको छ ।
यद्यपि, यस वर्षको धान उत्पादन पनि विगत पाँच वर्षको औसतभन्दा निकै बढी भएको एफएओको राष्ट्रिय विश्लेषणमा उल्लेख छ । संगठनका अनुसार विगत पाँच वर्षको औसत धान उत्पादन ५१ लाख ६१ हजार मेट्रिक टन बराबर छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने यो वर्ष नेपालको धान उत्पादन ५६ लाख २० हजार मेट्रिक टन पुगेको दाबी गर्दै आएको छ । यो अघिल्लो वर्षभन्दा करिब ७० हजार मेट्रिक टन बढी हो ।
सरकारले कोभिड-१९ का कारण गाउँ फर्केर धेरै व्यक्ति खेतीपातीमा संलग्न भएका कारण कुल धान खेती गरिएको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादन बढेको तर्क गरेको छ ।
एफएओका अनुसार धानको उत्पादनमा कमी आए पनि यो वर्ष नेपालमा मकैको उत्पादन करिब २ प्रतिशतले बढेको छ । सन् २०१९ मा नेपालमा २६ लाख ५० हजार टन मकै उत्पादन भएकोमा यस वर्ष २७ लाख मेट्रिक टन पुगेको स्थितिपत्रमा उल्लेख छ ।
यसैगरी, गहुँको उत्पादन २२ लाख मेट्रिक टन र अन्य अन्य बालीको उत्पादन ३ लाख ५२ हजार मेट्रिक टन बराबर रहेको एफएओको नेपालका लागि जारी स्थितिपत्रमा उल्लेख छ ।
खाद्यान्न आयात १३ लाख मेट्रिक टन पुग्ने
एफएओले चालू आर्थिक वर्ष २०७७/७८ (सन् २०२०/२१) मा नेपालको खाद्यान्न आयात वृद्धि भइ १३ लाख मेट्रिक टन पुग्ने अनुमान गरेको छ । संगठनका अनुसार धानको आयात ७ लाख ४० हजार मेट्रिक टन पुग्नेछ भने मकैको आयात ४ लाख टन र गहुँको आयात १ लाख टन पुग्नेछ ।
कोभिड-१९ का कारण आयआर्जन, पेशा/रोजगारी गुमाएका तथा रेमिट्यान्समा आएको कमीलगायतका कारण नेपालमा खाद्य असुरक्षामा रहेका नेपालीहरूको संख्या बढेर करिब २८ लाख पुगेको एफएओले जनाएको छ ।
खाद्य असुरक्षामा रहेका नेपालीहरूको ठूलो अनुपात सुदूरपश्चिमका दुर्गम उत्तरी भूभाग र मध्य-पूर्वी पहाडी क्षेत्रमा थुप्रिएको एफएओको स्थितिपत्रमा उल्लेख छ ।
प्रकाशित समय १५:४५ बजे

















