गृहपृष्ठ अव्यवहारिक शिक्षाका कारण कर्मचारी तन्त्रमा ‘हाकिम प्रवृत्ति’
अव्यवहारिक शिक्षाका कारण कर्मचारी तन्त्रमा ‘हाकिम प्रवृत्ति’
व्यवहारिक शिक्षा आवश्यक भएको बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बताएका छन् । उनले शिक्षा अव्यवहारिक भएकै कारण कर्मचारी तन्त्रमा हाकिम प्रवृत्ति मौलाएको तर्क गरे । ‘कृषिको विज्ञ खेतबारीमा हुनुपर्छ,’ उनले भने, ‘तबमात्रै दिगो विकासको अवधारणा लागू हुन्छ ।’ दिगो विकासको सोच राख्दैमा मात्रै कुनै पनि क्षेत्रमा सफलता नमिल्ने उनले बताए ।
शैक्षिक क्षेत्रमा मात्रै नभई हरेक क्षेत्रमा दिगो विकासको लागि व्यवहारिक शिक्षा आवश्यक रहेको उनको भनाइ थियो । ‘दिगो विकासका लागि शिक्षा’सम्बन्धी दुईदिने कार्यशाला गोष्ठीको समापनमा बोल्दै उनले यस्तो बताएका हुन् । समाजमा बालबालिकाको गर्भमा हुर्काइजन्माई र वैवाहिक अवस्थासमेत कुपोषित भएको भन्दै बस्नेतले यतातर्फसमेत सबैको ध्यान जानुपर्ने बताए ।
शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख भोजराज न्यौपानेले बालबालिकाहरुलाई सिकाइको राम्रो वातावरण हुनुपर्ने बताए । अध्यापन गर्न कक्षाकोठामा शिक्षक छिर्दा कम्तीमा पनि शिक्षक निर्देशिका हेरेर छिर्नुपर्ने उनले सुझाव दिए । बराहताल गाउँपालिका २ का वडा अध्यक्ष योवराज कार्कीले वडामा शिक्षक दरबन्दीको ठुलो समस्या भएको बताए । उनले शैक्षिक सामागी्रको समेत विद्यालयमाहरुमा अभाव रहेकोले यसतर्फ सरोकारवालाहरुको ध्यान जानुपर्ने बताए । शैक्षिक क्षेत्रमा दिगो विकासको सोच राख्न न्युनतम् आवश्यकताहरु पुरा नभएको अवस्थामा सोच पुरा नहुने उनले तर्क गरे ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग सचिवालयको आयोजनामा आयोजित दुईदिने कार्यशाला वडाका विभिन्न विद्यालयका शिक्षक, अभिभावकहरुको सहभागिता थियो । भेरी माध्यामिक विद्यालय बराहताल गाउँपालिका २ सुर्खेतको समन्वयमा उक्त कार्यशाला आयोजना गरिएको थियो ।
प्रकाशित समय १७:३२ बजे

















