गृहपृष्ठ प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता
प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता
चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)को प्रतिनिधि मण्डल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई देशबीचको हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।
भेटमा सीसीपीका उपमहासचिव गुओ येचौले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले नयाँ वर्ष २०२१ का लागि दिएको शुभकामना सन्देश सुनाएका थिए । उनले दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धका बारेमा चर्चा गरेका थिए ।
दुई देश र दुई कम्युनिष्ट पार्टीबीच लामो समयदेखि परस्पर सम्बन्ध रहेको र आगामी दिनमा पनि जारी रहने बताएको उनको भनाइ छ । सम्बन्धले नयाँ उचाइ हासिल गर्दै जाने आशा चिनियाँ पक्षले सो भेटमा राखेका थिए ।
प्रधानमन्त्रीलाई भेट्नु अगाडि चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला चिनियाँ टोली आइतबार दिउँसो काठमाडौं आएको हो ।

प्रकाशित समय १३:०५ बजे

















