गृहपृष्ठ कपडा आपूर्ति गर्दा नेपाल प्रहरीलाई नै ठगेको अभियोगमा २ जना पक्राउ
कपडा आपूर्ति गर्दा नेपाल प्रहरीलाई नै ठगेको अभियोगमा २ जना पक्राउ
ठगीसम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका- ८ घर भई काठमाडौं महानगरपालिका- २९, घट्टेकुलो बस्ने ४६ वर्षीय नरेन्द्र नाथ पौडेल र क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरी वीरगंजका सञ्चालक पर्सा वीरगंज महानगरपालिका- ५ बस्ने ५५ वर्षीय पिताम्बर कुमार मुन्कालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पिताम्बरलाई वीरगंज पर्साबाट तथा नरेन्द्रलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
नेपाल प्रहरीलाई आवश्यक उलन पाइन्टको कपडा २० हजार मिटर खरिद गर्न आर्थिक वर्ष २०७३/७४ सालमा बोलपत्र आव्हान गरिएकोमा क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरीले प्रतिमिटरको १ हजार ८२ रुपैयाँका दरले २० हजार मिटरको मूल्य अभिवृद्धि कर बाहेकमा २ करोड १६ लाख ४० हजार रुपैयाँ प्रस्ताव गरेको थियो । सो प्रस्ताव स्वीकार गरी उक्त फर्म र प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय नक्साल काठमाडौंबीच भएको सम्झौताबमोजिम आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्ने क्रममा प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालयबाट सम्बन्धित आपूर्तिकर्ता फर्म क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालिका प्रतिनिधि नरेन्द्रलाई रोहवरमा राखी नमूना निकाली परीक्षण गर्न सहमति भएको थियो ।
सो नमूना २०७७ साउन ३० गते एसजिएस चेन्नाई ईन्डिया पठाएपछि साउन ३२ गते नरेन्द्रले पुन: नेपाल प्रहरी संगठनको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाईल नम्बर तथा ईमेल ठेगानासमेत उल्लेख गरी डीएचएलमार्फत सोही ल्याबमा आफूखुसी दोश्रो नमूना पठाई प्रहरी संगठनलाई नै जालसाजी गरी आफूलाई फाईदा पुर्याउने कार्य गरेको खुल्न आएको छ ।
पक्राउ दुवै जनाउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जले जनाएको छ ।
प्रकाशित समय १४:५३ बजे

















