गृहपृष्ठ सन् २०२० मा पर्यटक आगमनमा ८० प्रतिशत गिरावट

सन् २०२० मा पर्यटक आगमनमा ८० प्रतिशत गिरावट

फाइल तस्वीर

सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्यांकअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक लाख ८३ हजार १३० तथा स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका हुन् ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण अघिल्लो वर्षको तुलनामा ८० दशमलव ८ प्रतिशत पर्यटक आगमन घटेको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा ११ लाख ७२ हजार ७२ पर्यटक नेपाल आएका थिए ।

कोभिडका कारण करीब छ महिना नियमित अन्तरराष्ट्रिय उडान प्रतिबन्ध भएकाले विदेशी पर्यटक घटेका हुन् । बन्दाबन्दीपछि गत भदौ १६ देखि अन्तरराष्ट्रिय र असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा आएको थियो । बोर्डका अनुसार सबैभन्दा बढी भारतबाट २५ हजार ३२० पर्यटक नेपाल आएका छन् । चीनबाट नौ हजार ८०८ जना, अमेरिकाबाट नौ हजार ६८२ जना, थाइल्यान्डबाट नौ हजार ५१८ जना र म्यान्मारबाट नौ हजार ४ सय जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

महामारीका कारण पर्यटक आगमन घटेको बोर्डका निर्देशक मणि लामिछानेले बताए । नेपाल घुम्न बढी पर्यटक मुख्य मुलुकबाट प्रतिशतका आधारमा भारतबाट सबैभन्दा बढी १७ दशमलव पाँच प्रतिशत पर्यटक आगमन छ । म्यान्मारबाट नौ दशमलव एक, थाइल्याण्डबाट नौ, चीनबाट आठ दशमलव चार, अमेरिकाबाट सात दशमलव सात र श्रीलंकाबाट पाँच दशमलव आठ प्रतिशत पर्यटक आगमन रहेको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । कोरोना महामारीले भ्रमण वर्ष नै स्थगित गर्नुपर्ने बाध्यता पर्‍यो । नेपालका प्रमुख १० पर्यटक स्रोत मुलुकमा भारत, चीन, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, अमेरिका, बेलायत, जापान र जर्मनी रहेका छन् । गत वर्ष १० को यो सूचीमा अष्ट्रेलिया, दक्षिण कोरिया र फ्रान्स थिए ।

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु