गृहपृष्ठ नेप्सेले नाघ्यो २१७५ अंक, १०५ कम्पनीको सेयर मूल्यमा वृद्धि
नेप्सेले नाघ्यो २१७५ अंक, १०५ कम्पनीको सेयर मूल्यमा वृद्धि
सेयर बजार परिसूचक नेप्सेमा आइतबार उछाल आएको छ । नेप्सेमा सूचीकृत सबै समूह उकालो लागेपछि बजार परिसूचक ८८.१२ अंकले बढेर २१७५.३९ अंकमा उक्लिएको हो ।
कुल २१२ कम्पनीको १ करोड ४० लाख २६ हजार ८८६ कित्ता सेयर ६ अर्ब ३४ करोड ४० लाख रुपैयाँबराबरमा किनबेच भएको छ । सबै समूहमा हरियाली छाउँदा व्यापार समूहमात्रै ९.६४ प्रतिशतले बढेको छ ।
त्यस्तै नेपाल टेलिकमको सेयर मूल्य ७.७८ प्रतिशतले बढेपछि अन्य समूह ६.१९ प्रतिशतले उकालो लागेको छ भने उत्पादनमूलक समूह ४.८६ प्रतिशतले बढेको छ । आइतबार लगानीकर्ता बैँक समूहतिर पनि फर्किएका छन् । बैँक समूह ४.४७ प्रतिशतले बढ्दा जीवन बिमा समूह ४.०९ अंकले बढेको छ । लघुवित्त २.३६, निर्जीवन बिमा २.८४, जलविद्युत २.४६, विकास बैँक २.१६, होटल १.८५, वित्त ०.८८ र म्युचुअल फन्ड समूह ०.२१ प्रतिशतले उकालो लागेको छ ।
आइतबार १०५ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । हिमालयन डिस्टिलरी र साल्ट ट्रेडिङको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनी, प्राइम बैँक, प्राइमकै संस्थापक सेयर, कुमारी बैँक, गुराँस लघुवित्त र नेसनल माइक्रोफाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ५० करोड ९५ लाखको सेयर कारोबार भएको छ । त्यस्तै प्राइम बैँकको ५० करोड २६ लाख, टेलिकमको ४५ करोड ७ लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको २७ करोड ५२ लाख र एनआईसी एसियाको २७ करोड ३७ लाखको सेयर किनबेच भएको छ ।
प्रकाशित समय १५:३६ बजे

















