गृहपृष्ठ मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजार स्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजुस्थित सडक खण्डबाट रोशन लामिछाने सवार गरीरहेको मोटरसाइकलसहित आईतबार पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।
नयाँबजार सडकखण्डबाट जिल्ला धादिङ त्रिपुरासून्दरी गाउँपालिका वडा नं. ५, चैनपुर बस्ने वर्ष २२ को आयुष थापा मगरलाई प्रदेश ३-०२-००८ प २६०७ नम्वरको कालो रातो रंगको २२० सी.सी.को पल्सर मोटरसाइकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं. लु ५२ प ७३३५ खुल्न आएको छ ।
उक्त नम्वरको मोटरसाइकल २०७६ साल भदाै ६ गते काठमाण्डौ ठमेलस्थित भगवानबाहाल मन्दिरअगाडि पार्किङ स्थलबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनी कुमार राना मगरले महाशाखामा निवेदन दिएको थिए । उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाइएको महाशाखाले जनाएको छ ।
त्यस्तै, काठमाडौ बालाजु सडकखण्डबाट जिल्ला दोलखा भिमेश्वआर नगरपालिका वडा नं. ३ भिमफेदी घर भई हाल काठमाण्डौ रानीवन बस्ने वर्ष २४ को रोशन लामिछानेलाई बागमती प्रदेश ०२-०१७ प ३४४७ नम्वरको कालो रातो रंगको २२० सी.सी. को पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको छ । उक्त नम्वरको मोटरसाइकल मिति गत मंसिर १४ गते काठमाण्डौ बनस्थलीबाट हराएकोले खोज तलास गरी पाउँ भनी राम कृष्ण ढकालले हुलिया सहितको निवेदन यस महाशाखामा दिएको थिए । उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको छ ।
महाशाखाले यस पुस महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ ।
प्रकाशित समय १८:११ बजे

















