गृहपृष्ठ दश महिनापछि कुस्तीको प्रशिक्षण सुरु हुँदै
दश महिनापछि कुस्तीको प्रशिक्षण सुरु हुँदै
फाइल तस्विर
बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः सुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो ।
महामारीका कारण कुस्तीका खेलाडी अभ्यास गर्न नपाउँदा निस्क्रय भएर बसेका छन् । कुस्ती खेलको गतिविधि बढाउन खेलाडीको प्रशिक्षण सुरु गर्न लागिएको नेपाल कुस्ती संघका महासचिव विद्यासागर पोखरेलले जानकारी दिए । ‘कुस्तीमा सामाजिक दूरी कायम गर्न सहज नहुँदा अन्य खेलको भन्दा प्रशिक्षण ढिला सुरु हुन लागेको हो,’ उनले भने ।
स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नै खेलाडीलाई प्रशिक्षण दिइने पोखरेलले जानकारी दिए । कुस्तीमा नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा महिलातर्फ एउटा मात्र स्वर्ण पदक जितेको थियो । नेपालका लागि सो पदक संगीता धामीले जितेकी हुन् ।
प्रकाशित समय १०:५९ बजे

















