गृहपृष्ठ भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

Typhoid-Vaccine-trail-Nepal

भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन् । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सबैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपंक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ ।

अग्रपंक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय सरकारको तयारी छ ।खोप लगाउनका लागि देशभर तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सबै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । आज पहिलो दिन हरेक खोप केन्द्रमा सय जनाको दरले खोप लगाउन सक्ने जनाइएको छ ।

खोपका लागि एकीकृत बालविकास सेवाका कर्मचारीसहित सरकारी तथा नीजि क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखिएको छ । दैनिक बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष बर्धनले जानकारी दिए । उनले कोरोनाविरुद्धको खोप अभियान सुरु हुनुलाई ‘कोरोनाको अन्त्य नै सुरु भएको’ रुपमा लिएका छन् ।

अर्को चरणमा ५० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई मात्रै खोप दिइने मापदण्ड बनाइएको सरकारी अधिकारीहरुले जनाएका छन् । वृद्धवृद्धाहरु कोरोनाभाइरसबाट संक्रमणको उच्च जोखिम हुने र संक्रमित भइसकेपछि जित्न पनि गाह्रो हुनेभएकाले उनीहरुलाई प्राथमिकतामा राखिएको उनीहरुले जनाएका छन् । उमेरले ५० वर्षभन्दा कम भएकाहरु पनि गम्भीर अवस्थाका विरामी छन् भने पनि उनीहरुलाई खोप लगाइने मापदण्डमा उल्लेख छ ।

भारतमा दुई प्रकारका खोप लगाउनका लागि सरकारले अनुमति दिएको छ । यही ३ जनवरीमा खोप लगाउन अनुमति दिने निर्णय सरकारले गरेको थियो । भारत बायोटेकले बनाएको कोभ्याक्सिन र अक्सफोर्ड विश्वविद्यालयसँग एस्ट्राजेनेका कम्पनीले बनाएको कोभिशिल्ड प्रयोग गर्न सरकारले अनुमति दिएको हो । खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले कोरोना महामारी विरुद्धको संक्रमण भारतीयहरु एकताबद्ध भएर लडेको बताउँदै खोपका लागि पनि भारतले कडा परिश्रम गरिरहेको बताए । ‘यति धेरै जनसंख्या भएको भारतमा महामारीका समयमा मानिसहरुले स्वास्थ्य मापदण्ड अपनाउँदा क्षति कम भएको छ । एक करोडभन्दा बढी मानिसहरुले महामारीसँग लडेका छन् र जितेका छन् । अन्य मुलुकभन्दा भारतमा महामारीको प्रभाव निकै न्यून छ,’ उनले भने ।

प्रकाशित समय १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु