गृहपृष्ठ टेलिभिजन शो ‘ऐना’ आजदेखि प्रसारण हुँदै
टेलिभिजन शो ‘ऐना’ आजदेखि प्रसारण हुँदै
बहुप्रतिक्षित टेलिभिजन शो ’ऐना’ आजदेखि प्रसारण हुने भएको छ । कांग्रेस नेता विश्वप्रकाश शर्माले सञ्चालन गर्ने कार्यक्रमको चर्चा धेरै अघिदेखि भए पनि यसको पहिलो भाग बुधबार राति ९ बजेदेखि कान्तिपुर टेलिभिजनमा हेर्न सकिने छ ।
सामाजिक विषयवस्तुमा आधारित तर फरक प्रस्तुति सहितको टेलिभिजन शो ’ऐना’ अहिले सम्मकै व्यापक र खोजमुलक हुने निर्माण कम्पनीले जनाएको छ । टीभी शोले नेपाली समाजमा हुने विभेद, अन्याय, हानिकारक प्रथा परम्पराजस्ता सामाजिक विषयवस्तुहरुको मानवीय संवेदनशीलताको पक्षलाई उजागर गर्ने बताइएको छ । दि होराइजन मल्टिमिडिया प्रालिले निर्माण गरिरहेको २६ एपिसोडको यो शो यसअघि गत कात्तिक पहिलो सातादेखि प्रसारण हुने बताइएको थियो । कोभिड– १९ का कारण शो दुई महिनापछाडि धकेलिएको हो ।
देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन-अनुसन्धान, घटना र पात्रहरुको मिहिन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी कुनै पनि विषय माथिको सम्पूर्ण ‘प्याकेज’का रुपमा कार्यक्रम ‘ऐना’ तयार गरिएको निर्माण पक्षले जानकारी दिएको छ । ‘कार्यक्रममा उठाइने सामाजिक मुद्दा र सम्बन्धित विषयमा स्थलगत अनुसन्धान र रिपोर्टिङपश्चात स्टुडियोमा छलफल हुन्छ,’ ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धितालले भने,’ विदेशमा यस्ता खालका विषयवस्तुहरुमा सीमित टेलिभिजन शोहरु भएता पनि नेपालमा भने यो स्तरको रिसर्च, टिम, मेहनत र लगानीमा हालसम्मकै ठुलो टेलिभिजन शो प्रसारण हुन लागेको हो ।’
प्रकाशित समय १३:४० बजे

















