गृहपृष्ठ ११ एसएसपीले पाए दर्ज्यानी चिह्न, प्राप्त जिम्मेवारीलाई पूरा गर्न निर्देशन

११ एसएसपीले पाए दर्ज्यानी चिह्न, प्राप्त जिम्मेवारीलाई पूरा गर्न निर्देशन

नेपाल सरकार मन्त्रिस्तरको २०७७ माघ ९ गतेको निर्णयअनुसार २०७७ माघ ८ गतेबाट लागू हुनेगरी प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा पदोन्नति भएका ११ जनामध्ये १० जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।  प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबउहाँहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने एसएसपीहरूमा कृष्ण कुमार महत, गोबिन्द कुमार शाह, उमाशंकर पन्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, कृष्णहरि शर्मा पोखरेल, चक्र बहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहन प्रसाद पोखरेल रहेका छन् । सोही निर्णयले पदोन्नति भएका एसएसपी सुरेन्द्र प्रसाद मैनाली हाल सुडान डार्फर मिसनमा कार्यरत छन् ।

समारोहमा आइजीपी थापा क्षेत्रीले पदोन्नति भएका एसएसपीहरुलाई बधाई तथा सफल कार्यकालको सुभेच्छा प्रदान गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूरा गर्न आगामी दिनमा अझै उत्कृष्ट काम गर्नुपर्ने बताए । नेपाल सरकारद्वारा घोषित निर्वाचनको तयारीमा रहन, सुरक्षा चुनौती व्यवस्थापन गर्न र मातहत कर्मचारीको आचरण व्यवहारमा अझै बढी सुधार ल्याउन पहल गर्न उनले निर्देशन दिए ।

आइजीपी थापा क्षेत्रीले कानुनभन्दा बाहेकका क्रियाकलाप नियन्त्रणमा थप सक्रिय हुन र सुरक्षाको दृष्टिकोणले आउने चुनौतीको सामना गर्न जिम्मेवारीपूर्वक अत्यन्त सहिष्णु भई काम गर्नुपर्ने बताए । कोभिड- १९ का कारण उत्पन्न आर्थिक अवस्थाको कारण वित्तिय व्यवस्थापनमा मितव्ययिता अपनाउनुपर्नेमा उनले जोड दिए ।

उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै एसएसपी कृष्ण कुमार महतले संगठन र नागरिक प्रतिको जिम्मेवारी र उत्तदायित्व बहन गर्दै संगठनको लक्ष्य प्राप्तिका खातिर सकारात्मक सोच अभिवृद्धि गर्दै अझै बढी उर्जाका साथ पारदर्शी भई काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित समय १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु