गृहपृष्ठ नेप्सेले २४२४ अंक पार गर्दा बजार पुँजीकरण ३२ खर्ब ६६ अर्ब नाघ्यो
नेप्सेले २४२४ अंक पार गर्दा बजार पुँजीकरण ३२ खर्ब ६६ अर्ब नाघ्यो
सेयर बजार परिसूचक नेप्सेले आइतबार २४२४ अंक पार गरेको छ । व्यापारबाहेकका सबै परिसूचक उकालो लागेपछि समग्र बजार परिसूचक ५०.२ अंकले बढेर २४२४.८४ अंकमा पुगेको हो ।
बजार तीव्र गतिले बढ्दा कुल बजार पुँजीकरण ३२ खर्ब ६६ अर्ब नाघेको छ । आइतबार २०७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर ९ अर्ब ३७ करोड ६० लाख रुपैयाँबराबरमा किनबेच भएको छ ।
आइतबार अन्य समूह सर्वाधिक ५.६९ प्रतिशत बढेको छ भने जलविद्युत २.७२ र लघुवित्त २.५६ प्रतिशतले बढेका छन् ।
ग्रामीण विकास लघुवित्त, मिथिला लघुवित्त, पोखरा फाइनान्स र गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशत बढेको छ । गुराँस लघुवित्त, नागरिक लगानी कोष, एनसीसी बैँक, सपोर्ट माइक्रोफाइनान्स, रिडी हाइड्रोपावर, प्रभु लाइफ, आईएमई जनरल इन्स्योरेन्स, माउन्टेन इनर्जी, जलविद्युत लगानी तथा विकास कम्पनी, शिवश्री हाइड्रो र आशा लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
साधारण सभा प्रयोजनका लागि माघ १३ गते बुक क्लोज मिति घोषणा गरेको नेपाल लाइफ इन्स्योरेन्सको आज सर्वाधिक ६६ करोड ८२ लाखको सेयर किनबेच भयो ।
प्रकाशित समय १७:४१ बजे

















