गृहपृष्ठ निर्यात सहजीकरणका लागि ‘नेपाल ट्रेड इन्फरमेसन पोर्टल’

निर्यात सहजीकरणका लागि ‘नेपाल ट्रेड इन्फरमेसन पोर्टल’

व्यवसायसम्बन्धी सम्पूर्ण आवश्यक सूचना सहज तथा सरल रुपमा एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले ‘नेपाल ट्रेड इन्फरमेसन पोर्टल’को शुभारम्भ गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल-भारत क्षेत्रीय व्यापार तथा पारवहान आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा उक्त पोर्टल सञ्चालनमा ल्याइएको हो । पोर्टलको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुभारम्भ गरे । नेपालको निर्यात व्यवसायसम्बन्धी सम्पूर्ण जानकारीलाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्न व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले उक्त पोर्टलको सुरु गरेको हो ।

सम्पूर्ण व्यवसायी तथा व्यवसायसँग सरोकार राख्ने निजी संघ, संस्था तथा सरकारी निकायलाई सूचना उपलब्ध गराउन उक्त पोर्टल सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ ।  nepaltradeportal.gov.np तथा एनटीआइपी मोबाइल एपबाट सहज रुपमा सेवाग्राहीले प्रयोग गर्न सक्ने केन्द्रले जनाएको छ । पोर्टलबाट व्यापार व्यवासय गर्न चाहनेलाई अपनाउनुपर्ने विधि र प्रक्रियाका बारेमा जानकारी प्रवाह हुने, विश्वको कुनै पनि कुनामा बस्ने सेवाग्राहीले नेपाली निर्यातयोग्य वस्तुको माग र पोर्टलमा प्रविष्ट भएका वस्तु एवं व्यावसायिक प्रोफाइल सहजरुपमा प्राप्त गर्न सक्नेछन् ।

यसबाट नीति निर्माता, सरकारी एवं निजी क्षेत्र तथा वाणिज्य क्षेत्रको अध्ययन तथा अध्यापन गर्नेलाई सहयोग पुग्ने केन्द्रले विश्वास लिएको छ । विश्व व्यापार संगठनको व्यापार सहजीकरण ऐनको दफा १ र २ मा सूचनाको पारदर्शिता उल्लेख भएबमोजिम यसमा समावेश गरिएको केन्द्रले जनाएको छ ।

यस पोर्टलमा निर्यात व्यापारसँग सम्बन्धित व्यवासय सुरु गर्न साधारण सूचनादेखि निर्यातका लागि वस्तु बजार र त्यसका लागि आवश्यक पर्ने नीति, नियम, प्रावधान, निर्यातकर्ता एवं सेवा प्रदायकको विवरण, निर्यातयोग्य वस्तुको विवरणका साथै व्यापारसँग सम्बन्धित सूचना, नेपालको वैदेशिक व्यापारका करिब एक दशक अघिदेखिको तथ्यांक समावेश गरिएको छ । निर्यातकर्ताले निर्यात गरिएको वस्तुको विवरण, सेवा प्रदायकको विवरण आफैँ पोर्टमा प्रविष्ट गर्ने व्यवस्थासमेत रहेकाले भविष्यमा व्यापार अभिवृद्धिमा सहयोग पुग्ने केन्द्रले विश्वास लिएको छ । पोर्टलबाट व्यापारसँग सम्बन्धित विषयको प्रचारप्रसार तथा बजारीकरणका लागि समेत कार्य गर्नेछ ।

पोर्टलको शुभारम्भ गर्दै मन्त्री भट्टले निजी क्षेत्रलाई सहजीकरण गर्नेमा सरकारको ध्यान केन्द्रित भएको बताए । उनले आयात निर्यातमा देखिएको समस्यासँगै समस्या समाधानको उपाय पनि ल्याउन निजी क्षेत्रसँग आग्रह गरे । वाणिज्यसम्बन्धी नीति निर्माणमा भएका कमीकमजोरीका बारेमा सरकारलाई सुझाव दिन आग्रह गर्दै उनले निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापार सहजीकरणमा प्रविधिको प्रयोगले सघाउ पुग्ने बताए । मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न निर्यात प्रवर्द्धनका साथै आयात प्रतिस्थापनमा सबै व्यवसायीको ध्यान जानुपर्नेमा उनले जोड दिए ।

प्रकाशित समय १८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु