गृहपृष्ठ काठमाडौं उपत्यकाभित्र बढी दुर्घटना हुने ३३ स्थानको पहिचान
काठमाडौं उपत्यकाभित्र बढी दुर्घटना हुने ३३ स्थानको पहिचान
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानीय निकाय तथा विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमा टल्कने ट्राफिक कोनहरु राखेको छ । महाशाखाले काठमाडौं उपत्यकाको चक्रपथ तथा चक्रपथबाहिर २६ स्थान र चक्रपथ भित्र ८ स्थान गरी बढी दुर्घटना हुने ३३ स्थानसमेत पहिचान गरेको छ ।
बढी दुर्घटना हुने ति स्थानहरुका सडकमा विशेषगरी रातको समयमा सडक बत्ती नहुँदा अँध्यारोको कारण जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्ने पैदलयात्री र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहेको पाइएको महाशाखाले जनाएको छ । यसरी हुने सडक दुर्घटना कम गर्न निरन्तर अभियानहरू चलाइरहेको पनि महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले तीव्र गतिका कारण हुने दुर्घटना न्युनीकरण गर्न बढी दुर्घटना जोखिम रहेको स्थानहरुमा रातको समयमा समेत टल्किने ट्राफिक कोनद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको जानकारी दिए । यस्ता कोनहरू उपत्यकाको विभिन्न सडक खण्डमा ४३० थान राखिएको उनले बताए । एयरपोर्ट नयाँ गेट, कार्गो, तिलगंगा, बालकुमारी, भाटभटेनी ओरालो, बल्खु चोक, सिता पम्प, खसीबजार, सितापाइला उकालो, वाफल, सानो भर्यााङ, वनस्थली, बबरमहल लगायतका सडक खण्डमा ट्राफिक कोनहरू राखिएको र यसलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

यसअघि पनि महाशाखाले ललितपुर महानगरपालिकासँग समन्वय गरी गत पुस १३ गते बालकुमारीदेखि सानेपासम्मका बिभिन्न १३ स्थानमा २०० थान Soft PVC Traffic Cone राखेको थियो । ति स्थानहरुमा ट्राफिक कोन राख्नुभन्दा १५ दिनअघि ४७ वटा दुर्घटनामा परी ३ जनाको मृत्यु र ३१ जना घाइते भएकोमा ट्राफिक कोण र सडक बत्ती जडानपश्चात त्यस क्षेत्रमा २९ वटा दुर्घटनामा १४ जना मानिस घाइते भएको जनाएको छ । महाशाखाले त्यस क्षेत्रमा भएका सवारी दुर्घटनाको बिश्लेषण गरी दुर्घटनामा उल्लेख्य कमी आएको जनाउदै यस प्रकारको अपरेसनल कार्यलाई थप निरन्तरता दिदै अन्य दुर्घटना सम्भावित सडकहरुमा समेत राख्दै जाने योजना रहेको बताएको छ ।
प्रकाशित समय १५:५१ बजे

















